अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५४ | Colorodo: 01:09

कोरोना नयाँ भेरियन्ट देखिएपछि बेलायतमा थप कडाइ

बिआरटीनेपाल २०७८ मंसिर १२ गते ७:०० मा प्रकाशित

कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन बेलायतमा पनि फेला परेको छ । बेलायतमा दुई जनामा नयाँ कोभिड भेरियन्ट संक्रमित भेटिएको बेलायती स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ । बेलायतको चेल्म्सफोर्ड, एसेक्स र नटिंगममा नयाँ केस फेला परेको बेलायती स्वास्थ्यमन्त्री साजिद जाविदले पुष्टि गर्नुभएको छ । नयाँ भेरिएन्टको कोरोना महामारी फैलन सक्ने भन्दै बेलायतले यसअघि नै ६ वटा मुलुकलाई यात्रा प्रतिबन्धको घोषणा गरेको थियो ।

यस्तै एंगोला, मोजाम्बिक, मालावी र जाम्बियालाई पनि रेड लिष्टको सूचीमा राखेको छ । रेड लिष्ट अन्तर्गतका मुलुकबाट बेलायत आउँदा १० दिन अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्नेछ । बेलायतबाहेक बेल्जियममा पनि यो भाइरस देखिन थालेपछि यात्रामा थप कडाइ गर्न थालिएको छ ।

प्रधानमन्त्री बोरिस जोनसनले पत्रकार सम्मेलन गरेर मुलुकबाट बेलायत आउने सबैलाई अबदेखि पिसिआर टेस्ट अनिवार्य हुने घोषणा गर्नुभएको छ । जसअनुसार बेलायत भित्रिएको दोस्रो दिनमा अनिवार्य रुपमा पीसीआर टेस्ट गर्नुपर्नेछ भने उक्त टेस्टमा नेगेटिभ नतिजा नआउँदासम्म सेल्फ आइसोलेसनमा बस्नुपर्नेछ ।

प्रधानमन्त्री जोन्सनले सार्वजनिक यातायात र स्टोरहरुमा जाँदा फेस मास्क अनिवार्य गर्ने तयारी पनि रहेको बताउनुभयो । तर फेसमास्कको नियमसम्बन्धि पूर्ण विवरण आगामी साता स्वास्थ्यमन्त्री साजिद जाभिदले सार्वजनिक गर्ने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू