अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३२ | Colorodo: 19:47

प्रधानन्यायाधीशलाई महाअभियोग नलगाइ बारको आन्दोलन रोकिँदैन- वरिष्ठ अधिवक्ता शाक्य

बिआरटीनेपाल २०७८ मंसिर १२ गते ६:५४ मा प्रकाशित

वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले प्रधानन्यायाधीशविरुद्ध राजनीतिक दलहरूले महाअभियोग नलगाएसम्म नेपाल बार एसोसिएशनको आन्दोलन चलिरहने बताउनुभएको छ । आज नेपाल बार एसोसिएशनले सर्वोच्च अदालत परिसरमा गरेको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता शाक्यले राजनीतिक दलहरूले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग लगाएमात्रै बारको आन्दोलन रोकिने बताउनुभएको हो ।

उहाँले प्रधानन्यायाधीश जबरा कानुनी र कागजी रूपमा पदमा अहिलेसम्म कायम रहेको भए पनि व्यावहारिक रूपमा भने त्यो पदमा नरहेको जिकिर गर्नुभयो । उहाँले प्रधानन्यायाधीशलाई कसैले स्वीकार नगर्दा पनि नागरिकलाई दुःख दिएर अदालत ठप्प पारेको आरोप लगाउनुभयो ।

अधिवक्ता अनन्तराज लुइँटेलले आउँदा दिनमा न्यायपालिकामा गरिने नियुक्ति वैज्ञानिक ढङ्गले गर्नुपर्ने बताउनुभयो । अहिले न्यायपालिकाको मान, सम्मान र प्रतिष्ठा समाप्त भएको भन्दै उहाँले बारको आन्दोलनलाई न्यायपालिका सुधारको कोशेढुङ्गा साबित गराउनुपर्नेमा जोड दिनुभयो ।

अधिवक्ता पदमबहादुर श्रेष्ठले ‘प्रधानन्यायाधीश जबरा न्यायपालिकाको प्रदूषण’ भएको टिप्पणी गर्नुभयो । कानुन व्यवसायीको आजसम्मको कुनै पनि आन्दोलन असफल नभएकाले प्रधानन्यायाधीशविरुद्धको यो आन्दोलन पनि सफल हुने उहाँले दाबी गर्नुभयो । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नेपाल बार एसोसिएशनले सर्वोच्चमा निरन्तर धर्ना दिदैँ आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू