अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३४ | Colorodo: 19:49

एमाले महाधिवेशन– बन्द सत्र लम्बियो, अध्यक्ष ओलीद्धारा पदाधिकारी र केन्द्रीय सदस्यको सुची तयार

बिआरटीनेपाल २०७८ मंसिर १२ गते ६:४९ मा प्रकाशित

नेकपा एमालेको दशौँ महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्द सत्र अझै शुरु हुन सकेको छैन । बिहान १० बजे सुरु हुने कार्यतालिका रहेको बन्द सत्र बेलुका अवेरसम्मपनि शुरु हुन नसकेको हो । अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी र केन्द्रीय सदस्यको नाम सर्वसम्मत गर्ने भन्दै दिनभरि तयारी गरेपछि बन्द सत्र सुरु हुन ढिलाइ भएको हो ।

ओलीले ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङलाई पदाधिकारी र केन्द्रीय सदस्यको नामावली टुङ्गो लगाउन जिम्मेवारी दिनुभएको थियो । निर्देशनअनुसार चार जनाले नाम टुङ्गो लगाएर अध्यक्ष ओलीलाई बुझाइसकेका छन् ।

सूचीलाई ओलीले अन्तिम रूप दिएपछि बन्द सत्रमा पेस गर्ने तयारी छ । तर अध्यक्षमा उम्मेदवारीको घोषणा गरेका भीम रावल र उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका घनश्याम भुसाल लगायतका नेताहरूले भने सहमतिका नाममा अध्यक्ष ओलीका नजिकका मान्छेलाई मात्रै पद दिने तयारी गरेको भन्दै विरोध गरेका छन् । उनीहरूले जसरी पनि चुनाव हुनुपर्ने अडान लिएका छन् ।

यस्तै अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्षको जिम्मेवारी ईश्वर पोखरेललाई दिन खोज्नुभएको छ तर सुवास नेम्वाङले पनि अडान छाड्नुभएको छैन् । नेम्वाङले आफू नै वरिष्ठ उपाध्यक्षको दाबेदार भएको भन्दै अडान यथावत् रहेको सन्देश ओलीलाई दिनुभएको छ ।

तर सहमतिको नाममा समय बित्दा निर्वाचनको कार्यतालिका पनि प्रभावित भएको छ । पूर्वनिर्धारित कार्यतालिकाअनुसार हिजो शनिवार बेलुका नै उम्मेदवारको मनोनयन र अन्तिम नामावली प्रकासन भइसक्नुपर्ने थियो । एमालेमा अबको पाँच वर्षका लागि नेतृत्व छान्न देशभरिबाट दुई हजार एक सय ७५ प्रतिनिधि चितवनको सौराहामा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू