अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५७ | Colorodo: 20:12

एमाले महाधिवेशनमा सबैको ध्यान नेतृत्व चयनमा – वरिष्ठ उपाध्यक्ष पाए रावल ब्याक हुने, महासचिवमा धर्मसंकट

बिआरटीनेपाल २०७८ मंसिर १० गते ७:०४ मा प्रकाशित

नेकपा एमालेको १० औं महाधिवेशनको उद्घाटन समारोह सम्पन्न भएको छ । नारायणी नदी किनारामा आयोजित भव्य उद्घाटन समारोहपछि अब एमाले नेता÷कार्यकर्ताको ध्यान आगामी नेतृत्व चयनमा केन्द्रीत भएको छ । मंसिर १२ अर्थात आइतवार पार्टीको आगामी ५ वर्षे कार्यकालका लागि १५ पदाधिकारीसहित २२५ केन्द्रीय सदस्यको चयन हुनेछ । विभिन्न पदमा आकांक्षी धेरै देखिएका छन् । त्यसैले यसपटक पनि नेतृत्व चयन सर्वसम्मत नहुने पक्कापक्की भएको छ ।

देशभरबाट चितवन पुगेका नेतामध्ये केहीले उम्मेदवारी घोषणा पनि गरिसकेका छन् । तर, एमालेको आकर्षक मानिने महासचिव पदमा भने अहिलेसम्म एकजनाले पनि औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छैनन् । सहमति र निर्वाचन दुवैको समानान्तर तयारी चलिरहेको महाधिवेशनमा महासचिव पदका लागि अध्यक्ष केपी ओलीनिकटका दुईजना नेताको आकांक्षा छ ।

वर्तमान उपमहासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य शंकर पोखरेलले महासचिवमा गर्नुभएको छ । महासचिवका अर्का आकांक्षी सुरेन्द्र पाण्डे भने १० वुँदे सहमतिबाट एमालेमा फर्किएका नेता हुनुहुन्छ । यी तीन नेताको नाम चर्चामा ल्याइए पनि तीनैजनाले औपचारिक रूपमा महासचिवमा दाबी गरेका छैनन् । त्यसो त माओवादीबाट एमालेमै रहेका रामवहादुर थापा बादलको चर्चा पनि महासचिवमा चलेको छ । स्रोतका अनुसार उहाँलाई उपाध्यक्षमा लैजाने तयारी भएको छ ।

एमाले नेताहरूका अनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिवमा कुनै हालतमा सहमति गराउने पक्षमा ओली उभिएका कारण नेताहरूले उम्मेदवारी घोषणा नगरेका हुन् ।ओलीको चाहनाविपरीत भीम रावलले अध्यक्षमा र ईश्वर पोखरेल, घनश्याम भुसाल तथा सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्षमा उम्मेदवार बन्ने चाहना देखाइसकेका छन् । उपाध्यक्षमा भने देवराज घिमिरेले मात्र औपचारिक रूपमा उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ ।

योगेश भट्टराईले सचिवमै दोहोरिने इच्छा व्यक्त गर्दा सचिवमा अन्य सबै नयाँ आकांक्षी छन् । ओली सचिव छाडेर सोभन्दा माथिको पदमा सर्वसम्मत नेतृत्व छान्ने रणनीतिमा भएकै कारण महासचिवमा तीनैजना दावेदारले खुलेर उम्मेदवारी घोषणा नगरेको एमालेका नेताहरू बताउँछन् ।

स्रोतका अनुसार शुक्रबार बिहानैबाट ओलीनिकट नेताहरू अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका रावललाई मनाउन लागिपरे पनि रावल तयार भइसकेका छैनन् । ओलीनिकट नेताहरू रावललाई दबाब दिन महाधिवेशनमा आएका प्रतिनिधिलाई ‘ओलीको विकल्प ओली’ भन्दै प्रचार गराउन थालेका छन् ।

स्रोतका अनुसार रावलले वरिष्ठ उपाध्यक्ष पाए ओलीलाई सर्वसम्मत अध्यक्ष मान्न तयार रहेको बताउनुभएको छ । तर, ओलीनिकट नेताहरूसँगको छलफलमा भने उहाँले औपचारिक रूपमा यो प्रस्ताव रराख्नुभएको छैन । अध्यक्ष र वरिष्ठ उपाध्यक्ष टुंगो लगाएपछि प्याकेजमै उपाध्यक्ष र महासचिवको टुंगो लगाउने ओली पक्षधर नेताहरूको रणनीतिकै कारण महासचिवका दाबेदारहरूले औपचारिक रूपमा उम्मेदवारी नदिएको अर्का एक नेताको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू