अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४७ | Colorodo: 17:02

सगरमाथा राष्ट्रिय निकुञ्जको राजस्व सङ्कलन ९५ प्रतिशतले बढ्यो

बिआरटीनेपाल २०७८ मंसिर १० गते ६:५६ मा प्रकाशित

सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुको राजस्व सङ्कलनमा ९५ प्रतिशतले बृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो चौमासिकको तुलनामा चालु आर्थिक वर्षको सोही अवधीमा ९५.८० प्रतिशतले बृद्धि भएको हो । कोरोना भाईरसका कारण पर्यटकीय गतिविधि ठप्प हुँदा आर्थिक वर्ष २०७७÷०७८ को पहिलो चौमासिक (साउन,भदौ,असोज) मा ५ लाख ५१ हजार १ सय ३६ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । तर चालु आर्थिक वर्ष २०७८÷०७९ को सोही अवधीमा १ करोड १२ लाख ११ हजार ५ सय ३३ रुपैयाँ राजस्व सङ्कलन गरेको कार्यालयको तथ्यांक छ ।

निकुञ्जको सुचना अधिकारी विष्णु रोकायका अनुसार गत आर्थिक वर्षको पहिलो चौमासिकमा पर्यटक प्रवेश शुल्कबाट ५ लाख १६ हजार ३ सय ५० रुपैयाँ, गैरकाष्ठ वन पैदावर बिक्री शुल्कबाट १८ हजार ३ सय ६ रुपैयाँ र दण्ड जरिवानाबाट १ हजार ६ सय ५० रुपैयाँ मात्रै राजस्व सङ्कलन भएको थियो । तर चालु आर्थिक वर्षमा भने सुरुवात देखि नै पर्यटकिय गतिविधि चलायमान हुँदा राजस्व संकलनमा अघिल्लो बर्षको भारी बृद्धि भएको हो ।

चालु आर्थिक वर्षको पहिलो चौमासिकमा पर्यटन प्रवेश शुल्कबाट १ करोड २ लाख २८ हजार ३ सय रूपैया, गैरकाष्ठ वन पैदावर (ढुंगा गिटी बालुवा) शुल्कबाट ७ हजार ७ सय ७८ रूपैया, दण्ड जरिवानाबाट ४५ हजार रूपैया, गाईड प्रवेश शुल्कबाट ४ लाख ९२ हजार रूपैया र भरिया प्रवेश शुल्कबाट ३० हजार ६ सय ५० रूपैयाँ सङ्कलन भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्यायले जानकारी दिनुभयो ।

त्यसै गरी क्याम्पिङ शुल्कबाट ३ लाख १२ हजार ३ सय रूपैयाँ र अन्य शिर्षकहरुबाट १ लाख १२ हजार ८ सय ५ रुपैया गरि कुल १ करोड १२ लाख ११ हजार ५ सय ३३ रूपैयाँ राजस्व संकलन भएको निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू