अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५३ | Colorodo: 00:08

एमाले महाधिवेशन – शीर्ष नेताहरुको सम्बोधन

बिआरटीनेपाल २०७८ मंसिर १० गते ६:५० मा प्रकाशित

चितवनको भरतपुरमा रहेको नारायणी नदी किनारमा आज शुक्रवादेखि सुरु भएको एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनमा प्रधानमन्त्रीसहित विभिन्न पार्टीका शीर्ष नेताले शुभकामना दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक आन्दोलनबाट प्राप्त लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नु सबै दलको जिम्मेवारी भएको बताउनुभएको छ ।

यस्तै एमाले महाधिवेशनलाई सफलताको शुभकामना दिँदै नेकपा (माओवादी केन्द्र) का नेता लीलामणि पोखरेलले नेपालमा कम्युनिस्ट पार्टीको एकता अनिवार्य रहेको बताउनुभयो । उहाँले राष्ट्रिय हित र विकासमा मतभेद हुन नहुने धारणा राख्नुभयो ।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संविधानलाई समावेशी र सङ्घीयतालाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप मजबुद बनाउनुपर्नेमा जोड दिनुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मधेश आन्दोलनसँग जोडिएका माग पूरा गराउन अधिकतम प्रयास गरेकामा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिनुभयो । ओलीले मधेश आन्दोलनका दौरान भएका सम्झौता कार्यान्वयन गरेको उहाँको भनाइ थियो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कम्युनिस्ट पार्टी एकजुटको विकल्प नरहेको बताउनुभयो । उहाँले कम्युनिस्ट एकताले मात्र देश र नागरिकको हित हुने धारणा राख्नुभयो । देश र नागरिकका लागि दल एक ढिक्का हुनुको विकल्प नरहेको केसीको भनाइ थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एमालेका अध्यक्ष ओलीले राष्ट्रको हितमा काम गरेर नेपाली नागरिकलाई गुन लगाएको बताउनुभयो । ओलीले लिपुलेक–लिम्पियाधुरासहितको नयाँ नक्सालाई संस्थागत गरेको उहाँको भनाइ थियो । चीनसँग व्यापार र पारवहन सम्झौता गर्न सफल भएको अध्यक्ष थापाले बताउनुभयो । उहाँले ओली सरकारले मधेशको पृथकतावादी आन्दोलन र विप्लव समूहलाई शान्तिपूर्ण अभियानमा ल्याएको उल्लेख गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू