स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग खोप सहजीकरण बारे छलफल गर्नुभएको छ । बिहीबार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र स्वास्थ्य सम्बन्धी अधिकारीहरुसँग उहाँले गाउँ तहसम्म सहज किसिमले खोप लगाउनेबारे योजना बनाउन निर्देशन दिनुभयो ।
मन्त्री खतिवडाले प्रमुख जिल्ला अधिकारीहरुले कोरोनाबिरुद्धको खोप लक्षित समुदायमा पु¥याउन स्थानीय रुपमा योजना बनाएर लागू गनुपर्ने बताउनुभएको हो । उहाँले प्रदेश र स्थानीय तहमा भण्डारण गरिएको कोरोनाबिरुद्धको खोपको मात्रा अपुग भए तत्काल केद्रिय सरकारसँग माग गर्न आग्रह गर्नुभयो ।
मन्त्री खतिवडाले जिल्लामा भएका स्वास्थ्य केन्द्रहरुलाई बार अनुसार नभइ नियमित खोप सञ्चालन गर्न निर्देशन दिनुभयो । उहाँले विभिन्न पार्टीले आयोजना गरिरहेका महाधिवेशन स्थलमा धेरै मानिस जम्मा हुने भएकोले उक्त स्थानमा गएर पनि खोप डेस्क सञ्चालन गरी जनतासमक्ष खोप पुर्याउन आग्रह गर्नुभयो ।
सरकारले अहिले १८ वर्षमाथिका कोरोनाको खोप लगाउन छुटेका सबैलाई खोप केन्द्रमा गई खोप लगाउन आह्वान गरेको छ । सरकारले आगामी चैत मसान्तसम्म लक्षित सबैलाई खोप लगाउने जनाएको छ ।