अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४८ | Colorodo: 07:03

‘देशको राजस्वले चालु खर्च पनि धान्न नसक्दा बजेट प्रणाली समस्याग्रस्त’-अर्थमन्त्री शर्मा

बिआरटीनेपाल २०७८ मंसिर ८ गते ७:४० मा प्रकाशित

अर्थमन्त्री जनार्दन शर्माले देशको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेको बताउनुभएकाे छ । मन्त्री शर्माले अहिले राजस्वले चालु खर्च पनि धान्न मुस्किल भएको बेला निजी क्षेत्र निजी स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बेला भएको बताउनुभयाे ।

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले आज बुधवार काठमाण्डाैमा आयोजना गरेको आर्थिक पुनरुत्थानमा सार्वजनिक निजी साझेदारी विषयक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले निजी क्षेत्रको प्राथमिकता देश निर्माण र आर्थिक विकासमा केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो । उहाँले निजी क्षेत्रका केही व्यवसायी आफ्नो स्वार्थमा लागे पनि आम निजी क्षेत्र आर्थिक विकास र देश निर्माणमा रहेको पनि बताउनुभयो । देशको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेकोले कोभिडपछिको आर्थिक पुनरुत्थानमा निजी क्षेत्रले खोजेजस्तो सहुलियत दिन नसकेको उहाँले बताउनुभयो ।

अर्थमन्त्री शर्माले देशकाे आर्थिक विकासमा निजी क्षेत्रको भूमिका प्रशंसायोग्य भएको बताउनुभयो । उहाँले अब सरकारसँग मिलेर निजी क्षेत्रले ठूला पूर्वाधार निर्माणमा लगानी गर्नुपर्छ भन्नुभयाे ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सीसीडी रेसियो हटाएकाले अहिले बजारमा तरलताको अभाव नभएको बताउनुभयो । गभर्नर अधिकारीले अहिले बजारमा भइरहेको तरलताको विषयमा सीसीडी र तरलतालाई तुलना गर्न नहुने बताउनुभयो । उहाँले तरलता लामो समयदेखि समस्याको विषय भएको र कर्जाको माग बढेकाले पनि याे समस्या देखिएको बताउनुभयो ।

गभर्नर अधिकारीले विश्व अर्थतन्त्र ५ दशमलव ९ प्रतिशतले विस्तार हुने प्रक्षेपण भइरहेको बताउनुभयो । उहाँले नेपालमा पनि कोभिडपछि अर्थतन्त्रमा राम्रो ‘रिकभरी’ भएको बताउनुभयो । अहिले समग्र माग बढ्दा मूल्य वृद्धिमा चाप पर्दै गइरहेको छ । यसरी चाप गर्दा मूल्यवृद्धि ६ दशमलव ५ प्रतिशतमा रहने अनुमान गरिएको गभर्नर अधिकारीले बताउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले नेपाल राष्ट्र बैंकले कोरोना महामारीको अवस्थामा राम्रो काम गरेकाले अर्थतन्त्र चाँडै माथि उठ्न सक्ने अवस्थामा पुगेको बताउनुभयो । अध्यक्ष गोल्छाले सरकारको तर्फबाट विशेष कार्यक्रम आउन नसकेको बताउनुभयो ।

फरक प्रसङ्गमा उहाँले नेपालमा पूर्वाधार विकासका लागि अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सहयोग लिनुपर्ने बताउनुभयो । अध्यक्ष गाेल्छाले एमसीसी सहयोग लिँदा नेपाललाई कुनै असर नपर्ने बताउनुभयो । एमसीसीले देश विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा प्रमुख भूमिका खेल्ने बताउनुभयो ।

प्रतिक्रिया