अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३९ | Colorodo: 00:54

आइन्स्टाइनको सापेक्षता सिद्धान्तकाे पाण्डुलिपि १ करोड ३० लाख डलरमा लिलाम बिक्री

बिआरटीनेपाल २०७८ मंसिर ८ गते ७:३७ मा प्रकाशित

अल्बर्ट आइन्स्टाइनले सापेक्षतासम्बन्धी सिद्धान्त तयार गर्ने प्रयास गरिरहँदा गरेको हिसाबकिताबको एउटा पाण्डुलिपि १ करोड ३० लाख डलरमा लिलामीमा बिकेको छ ।

यो पाण्डुलिपि फ्रान्सको पेरिस क्रिस्टिको लिलामी घरमा बिक्रीमा राखिएको थियो । क्रिस्टिको लिलामी घरमा भएको यो बिक्रीले वैज्ञानिक दस्तावेजको लिलामीको कीर्तिमान तोडेको बीबीसीले जनाएको छ । सन् १९१५ मा प्रकाशित यो सिद्धान्तले मानवजातिको अन्तरिक्ष, समय र गुरुत्त्वाकर्षणबारेको बुझाइ परिवर्तन गरिदिएको थियो । सापेक्षिता सिद्धान्त सम्बन्धी हिसाब गरेको यो पाण्डुलिपि आइन्स्टाइन र उनका स्वीस सहकर्मी मिसेल बेसोले सन् १९१३ र १९१४ तयार गरेका थिए । यी कागजात पनि बेसोले नै राखेका थिए । क्रिस्टिको लिलामी घरले यी पाण्डुलिपिलाई जोगाएर राख्ने बेसोको सोंचको तारिफ गरेको छ ।

‘आइन्स्टाइन त्यस्ता थिए जसले आफूले लेखेका थोरैमात्रै कागजात राखे, त्यसैले यो पाण्डुलिपि रह्यो भन्ने तथ्य मात्रै पनि हाम्रा लागि असाधारण हो’ लिलामी घरका विज्ञ भिन्सेन्ट बेल्लोएले भन्नुभयो । पाण्डुलिपिमा कालो कलमले हिसाबकिताब गरिएको छ र बेल्लोएका अनुसार सिद्धान्त तर्जुमा गर्ने दौरान त्यहाँ थुप्रै गल्ती देखिन्छ । तर ५४ पृष्ठको यो पाण्डुलिपि कसले खरिद गरेको भन्ने खुलाइएको छैन ।

आइन्स्टाइनको सापेक्षताको सिद्धान्तले ब्रह्माण्ड, ग्रहका कक्ष र ब्ल्याक होलको उत्पत्तिमा थप स्पष्टता ल्याएको थियो । गएको मे महिनामा आइन्स्टाइनको सबैभन्दा चर्चित E=mc2 इक्वेशनबारे लेखिएको पत्र १२ लाख डलरमा अमेरिकामा बिक्री भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू