अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४२ | Colorodo: 03:57

एनआरएनलाई डलर खाता खोल्न दिनेबारे छलफल भइरहेको छ – अर्थमन्त्री शर्मा

बिआरटीनेपाल २०७८ मंसिर ७ गते ७:१० मा प्रकाशित

अर्थमन्त्री जनार्दन शर्माले गैरआवासीय नेपाली (एनआरएन) लाई डलर खाता खोल्न दिनेबारे छलफल भइरहेको बताउनुभएको छ । आज मङ्गलवार राष्ट्र बैंक परिसरमा आयोजित वित्तीय क्षेत्रको समसामयिक अवस्थाबारे समीक्षात्मक कार्यक्रममा उहाँले यो जानकारी दिनुभएको हो ।

उहाँले सञ्चितिको अवस्थालाई सन्तुलनमा राख्न एनआरनलाई डलर खाता खोल्न दिनेबारे छफलफल भइरहेको बताउनुभएको हो । मन्त्री शर्माले पछिल्लो समय क्रिप्टोकरेन्सीको कुरा भइरहेको भन्नुहुँदै त्यसका लागि पहिले पूर्ण रूपमा डिजिटल कारोबार गर्नुपर्ने बताउनुभयो । पूर्ण रूपमा डिजिटल कारोबारमा जानलाई आम मानिसलाई वित्तीय साक्षरता भनेझैँ डिजिटल साक्षरता आवश्यक हुने पनि उहाँले बताउनुभयो । त्यसका लागि राष्ट्र बैंकले सहजीकरण गर्नुपर्नेमा मन्त्री शर्माले जोड दिनुभयो ।

यस्तै उहाँले राष्ट्र बैंकका कर्मचारीसँग बैंकहरू डराउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभयो । अझै पनि कर कार्यालयको अधिकृत भन्नेबित्तिकै करदाता डराउने, भन्सारको अधिकृत भनेपछि आयातकर्ताहरू यताउता हुने स्थिति रहेको र राष्ट्र बैंकका अनुगमन कर्मचारी भन्नेबित्तिकै बैंकहरू डराउनुपर्ने अवस्था रहेको भन्नुहुँदै सहज वातावरण बनाउनुपर्ने बताउनुभयो । त्यस किसिमको अवस्थाले समावेशी लोकतन्त्रअनुसारको चरित्र तथा मानसिकता अझै विकास भइनसकेको बुझाउने उहाँले बताउनुभयो ।

सरकारले लिएको आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त गर्न पुँजीगत खर्च बढाउने, पर्यटन क्षेत्रलाई पुनर्जीवित गर्ने तथा बन्द उद्योगलाई फेरि सञ्चालन गर्ने तयारी रहेको मन्त्री शर्माले जानकारी दिनुभयो । आर्थिक वृद्धिमा बेमौसमी वर्षाले रणनैतिक असर पारे पनि लक्ष्यमा पुग्न अन्तिम समयसम्म कार्य गर्नुपर्ने उहाँले बताउनुभयो ।

यसैबीच मन्त्री शर्माले वैदेशिक रोजगारीमा रहेकाको सञ्चय कोष व्यवस्था गर्ने विषयमा पनि मन्त्रालयमा छलफल भइरहेको बताउनुभयो । आज नै राष्ट्र बैंकको काम कारबाहीबारे सङ्क्षिप्त जानकारी लिनुहुँदै उहाँले हुन्डी कारोबारलाई रोक्न त्यो व्यवस्था गर्नेबारे छफलफल भइरहेको बताउनुभएको हो । ‘विदेशमा रहेकाको सञ्चय कोष बनाएर केही रकम हामीले यहाँ थपिदिएर औपचारिक माध्यमबाटै सबै पैसा पठाउने वातावरण बनाउने तयारी भइरहेको छ’, मन्त्री शर्माले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू