अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३० | Colorodo: 19:45

शिक्षामन्त्री पौडेल र जर्मनका राजदूतबीच शिष्टाचार भेटवार्ता

बिआरटीनेपाल २०७८ मंसिर ७ गते ७:०७ मा प्रकाशित

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र जर्मनका राजदूत डा थोमस प्रिन्जबीच शिष्टाचार भेटवार्ता भएको छ। मङ्गलबार मन्त्रालयमा भएको भेटवार्तामा विज्ञान तथा प्रविधिको विकास, वातावरणीय असन्तुलन, नवीकरणीय ऊर्जाको विकास एव्म उत्पादनको विषयमा छलफल भएको हो ।

सो अवसरमा मन्त्री पौडेलले नेपाल र जर्मनबीच १९५८ मा कूटनीतिक सम्बन्ध स्थापना भएको र सन् २००६ मा नेपालमा राजदूतावास खुले यता द्विपक्षीय सम्बन्ध सदा उत्कृष्ट र सुमधुर रहँदै आएको बताउँदै प्राविधिक र आर्थिक क्षेत्रमा सहयोग गर्न अपिल गर्नुभयो ।

उहाँले नेपालमा संघीयता कार्यान्वयनमा आएपछि राष्ट्रिय शिक्षा नीतिमा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमका अवसरलाई व्यापक विस्तार गरी नागरिकलाई समावेशी एवं समतामूलक ढङ्गबाट पहुँच स्थापित गर्दै देश विकासका लागि योग्य, सक्षम, सीपयुक्त र उद्यमशील जनशक्ति तयार गरी समृद्ध नेपाल विकासमा योगदान गर्ने उद्देश्य राखिएको जानकारी गराउनुभयो ।

उहाँले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिमको माध्यमबाट सीपयुक्त दक्ष जनशक्ति तयार गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्दै समृद्ध नेपाल निर्माणको यात्रामा जर्मनी सरकारलाई सहयोगका लागि आग्रह गर्नुभयो । जर्मनका राजदूत प्रिन्जले नेपालका विद्यार्थीले जर्मनमा निःशुल्क शिक्षा लिइरहेको बताउँदै भविष्यमा पनि यसको निरन्तरता हुने बताउनुभयो ।

उहाँले नवीकरणीय ऊर्जा, विज्ञान तथा प्रविधिमा आधारित शिक्षा आदानप्रदानलगायतका विषयमा नेपालसँग सहकार्य र सहयोग गर्न इच्छुक रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू