अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१६ | Colorodo: 04:31

ह्युस्टनमा गजल उत्सव-४ सम्पन्न

बिआरटीनेपाल २०७८ मंसिर ५ गते १९:४२ मा प्रकाशित

ह्युस्टन, टेक्सस । देशदेखि टाढा प्रवासमा आयोजित यस्ता उत्सवहरूले साहित्यिक मनहरूलाई ठुलो राहत पुर्‍याएको छ । देशमा हुने गरेका कार्यक्रमहरू हेरेर आफ्नो अनुपस्थितिले प्रवासमा मन खुम्चाउनु पर्ने अवस्था क्रमशः कम हुँदै गएको छ । नोभेम्बर २० तारिख ह्युस्टनमा गजल उत्सव – ४ भव्य रूपमा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय साहित्य समाज ह्युस्टन च्याप्टर र गजल यात्राको आयोजनामा सम्पन्न महोत्सवमा अमेरिकाको विभिन्न राज्यबाट चालीस जना गजलकारहरूको सहभागिता रहेको थियो । नयाँ र पुराना गजलकारहरूले एक से एक उत्कृष्ट गजलहरू वाचन गरेर दर्शक श्रोताको वाहवाह र तालीसँगै मन पनि जितेका थिए ।

दिउँसो चार बजेदेखि सुरु भएको गजल वाचन राती ९ मा सकिएको थियो । कार्यक्रममा गजल वाचन मात्र होइन , गायन र नृत्यको पनि बेजोड प्रस्तुति थियो । सुरुमा शनिवार बिहान गजल यात्राले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा गजल लेखन अमेरिकामा कस्तो छ , गजलको गुणस्तर सुधार कसरी गर्ने सम्बन्धमा छलफल गरिएको थियो । 

गजल उत्सवमा गजलकारहरू गोवर्द्धन पूजा, कृष्ण कुसुम, डिल्लु चम्लागाईं, रोहित राना, पुरानाघरे, भूपेन्द्र महत, सतिश त्रिपाठी, बासु पौडेल, पवन लामिछाने, राधाकृष्ण काफ्ले, बासुपुष्पा अधिकारी, बिटु केसी, सारदा पाठक, पूजा वागीश, खेमराज गैराघरे, विदुर दवाडी, मोदनाथ सादा, नीलहरि आचार्य, मदन दुलाल, शारदा धिताल, रोशन श्रेष्ठ, अमृत कंडेल, मणि गौतम, कञ्चन भुषाल, अस्मिता आचार्य, आनन्द मोहन खनाल, मिलन कोइराला, दीपेन्द्र गौतम, पुण्य प्रकाश, राजीव घिमिरे, मिलन खराल, मोहन भण्डारी, केशवराज ज्ञवालीले गजल वाचन गरेका थिए । त्यसै गरी महेश्वर पन्त, केशव पौडेल, विमल पराजुली र सविन दंगालले गजल गायन प्रस्तुत गरेका थिए । गजल नृत्यबाट रूपेश उप्रेतीले दर्शकलाई मन्त्र मुग्ध बनाए ।

महोत्सवका संयोजक एवं अन्तर्राष्ट्रिय साहित्य समाज ह्युस्टनका उपाध्यक्ष सतिश त्रिपाठीले गजल उत्सवलाई अतर्राष्ट्रियव्यापी गर्ने सोच रहेको बताए । महोत्सवमा अन्तर्राष्ट्रिय साहित्य समाज ह्युस्टनका अध्यक्ष बासु पौडेले यस्ता कार्यक्रमलाई भविष्यमा अझ विस्तृत बनाउनुपर्ने विचार व्यक्त गरे । गजल यात्राका अभियन्ता द्वय पवन लामिछाने र बासुपुष्पा अधिकारीले नियम सङ्गत र कार्यको समान बाँडफाँड गरी आगामी दिनमा गजल उत्सवलाई अगाडि बढाउने बताए । गजल उत्सव-४ लाई सम्पन्न गर्न आर्थिक सहयोग गर्ने स्थानीय र अमेरिकाका अन्य सहरहरूका सहयोगी संस्था र व्यक्तिहरूलाई प्रसंसापत्र द्वारा सम्मान गरिएको थियो । उत्सवमा सहभागी गजलकारहरू अत्यन्त खुसी र उत्साहित देखिएका थिए ।

फोटो सौजन्य: बिटु केसी

प्रतिक्रिया