अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१२ | Colorodo: 19:27

राजनीतिक परिवर्तनको नेतृत्व अध्यक्ष प्रचण्ड गर्नुभयो – अर्थमन्त्री शर्मा

बिआरटीनेपाल २०७८ मंसिर ४ गते ६:५६ मा प्रकाशित

अर्थमन्त्री जनार्दन शर्माले मुलुकमा प्राप्त राजनीतिक परिवर्तनको नेतृत्व नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको दावी गर्नुभएको छ । पार्टी निकट पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपाल एशोसिएट प्रदेश समितिले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उहाँले मुलुकमा भएको राजनीतिक परिवर्तन माओवादी र त्यसको नेतृत्व प्रचण्डको आँट र साहसबाट मात्रै सम्भव भएको बताउनुभयो ।

मुलुकमा भएको परिवर्तनलाई रक्षा गर्न सञ्चार माध्यमहरूले नेतृत्वदायी भूमिका खेल्नुपर्ने मन्त्री शर्माको भनाइ छ । उहाँले जनतालाई सही सूचना दिने र सरकारले गरेका कामहरूको जानकारी गराउने काममा पनि सञ्चार क्षेत्रमा आवद्ध संघ, संगठनहरूले जोड दिनुपर्ने जरुरी रहेको बताउनुभयो ।

मन्त्री शर्माले समाजवादको आधार सामुदायिक पुँजी रहेको पनि बताउनुभयो । सामुदायिक पुँजीले समाजवादको आधार तयार गर्ने उहाको भनाई छ । समाजवादका लागि समुदायलाई बलियो बनाउनुपर्नेमा जोड दिनुहुँदै मन्त्री शर्माले अबको कार्यदिशा उत्पादनमा आधारित रहेर सामुदायिक पुँजी निर्माण रहेको बताउनुभयो ।

गरिबी अन्त्य गर्ने, असमानताको अन्त्य गर्ने, सामाजिक न्याय स्थापित गर्ने कुरा आजको प्रमुख कुरा भएको र त्यसका लागि सामुदायिक पुँजीलाई बलियो बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । मन्त्री शर्माले उत्पादनका साधन र स्रोतमाथि समुदायको स्वामित्व हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू