अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४८ | Colorodo: 23:03

१४ औं महाधिबेशन अन्तरगत ७५ जिल्लामा कांग्रेसको स्थानीय अधिवेशन सकियो

बिआरटीनेपाल २०७८ मंसिर ४ गते ६:५३ मा प्रकाशित

सत्तारुढ नेपाली कांग्रेसले १४ औँ महाधिवेशनअन्तर्गत ७५ जिल्लामा स्थानीय तहको अधिवेशन सम्पन्न गरेको छ । ती जिल्लामा वडा अधिवेशन सकिएर गाउँपालिका र नगरपालिकास्तरीय कार्यसमितिको नेतृत्व चयन भएको हो । रसुवा र सर्लाहीमा भने क्रियाशील सदस्यताकै विवादका कारण अधिवेशन रोकिएका छन् । अधिवेशन रोकिएपछि सर्लाही र रसुवाका जिल्ला सभापतिसहित नेताहरू काठमाडौं पुगेका छन् ।

जिल्लाको विवादका विषयमा नेताहरूसँग छलफल गरेर विवाद समाधान गरी अधिवेशन अघि बढाउने तयारी रहेको केन्दि«य कार्यालयले जनाएको छ । कांग्रेसले मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा पार्टीको १४ औँ महाधिवेशन गर्ने कार्यतालिका छ । त्यसअघि अब १६५ वटा प्रतिनिधिसभा क्षेत्र, ७७ जिल्ला र ७ वटै प्रदेशको अधिवेशन भइसक्नुपर्छ ।

कांग्रेसले १४ हिमाली जिल्लामा भने अधिवेशन पूरा गरिसकेको छ । समितिका अनुसार डोल्पा, बाँके, कैलाली, सुर्खेत, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, पाँचथर, इलाम, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, उदयपुर, झापा, मोरङ, सुनसरी, सिन्धुली, काभ्रपलाञ्चोक, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर, काठमाडौं, लमजुङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, बागलुङ, पूर्वी नवलपुरासी, पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रोल्पा, प्युठान, दाङ, बर्दिया, रुकुम पश्चिम, सल्यान, जाजरकोट, दैलेख, डोटी, अछाम, बैतडी, डडेलधुरा र कञ्चनपुरलगायत जिल्लामा शुक्रबारदेखि प्रदेशसभा क्षेत्रीय अधिवेशन सुरू भएको छ ।

यी जिल्लामा ५ गतेभित्र प्रदेशसभा क्षेत्रीय अधिवेशन सम्पन्न भएपछि ६ गतेबाट प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सुरु हुनेछन् । निर्वाचन समितिले यी जिल्लाहरूमा ६ मंसिरमा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एकमात्र क्षेत्र भएका जिल्लाको अधिवेशन गर्ने मिति तोकेको छ । त्यस्तै, दुई वा सोभन्दा धेरै निर्वाचन क्षेत्र भएका जिल्लामा १० मंसिरमा जिल्ला अधिवेशन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू