अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३२ | Colorodo: 22:47

नेपालमा कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या ९० लाख नाघ्यो

बिआरटीनेपाल २०७८ मंसिर ३ गते ६:१७ मा प्रकाशित

नेपालमा कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा पहिलो मात्रा लगाउनेको सङ्ख्या ९० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा एक लाख ७३ हजार चार सय ९८ जनाले कोरोनाविरुद्धको खोप लगाएसँगै कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या ९० लाख नाघेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म ९० लाख ८१ हजार ६ सय ५४ जनाले कम्तीमा पहिलो मात्रा खोप लगाएकामा उनीहरूमध्ये ७८ लाख एक हजार पाँच सय ६ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

नेपालमा अहिलेसम्म एक करोड ६८ लाख ८३ हजार एक सय ६० मात्रा खोप प्रयोग भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैबीच पछिल्लो २४ घण्टामा दुई सय ९६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी आठ हजार नौ सय ७२ जनाको नमुना परीक्षण गर्दा तीन दशमलव २९ प्रतिशत अर्थात् दुई सय ९६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा तीन सय ६९ जना निको भएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९९ हजार पाँच सय ४५ पुगेको छ । यही अवधिमा पाँच जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय ९४ जना पुगेको छ ।

अहिले नेपालमा सात हजार पाँच सय ३९ जना सक्रिय सङ्क्रमित रहेकामा दुई सय ३१ जनाको आईसीयू र ५६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू