अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०४ | Colorodo: 19:19

प्रधानन्यायाधीशले अदालतलाई युद्धमैदान बनाउन खोजेकाे बारकाे निष्कर्ष

बिआरटीनेपाल २०७८ मंसिर २ गते ६:४४ मा प्रकाशित

नेपाल बार एशोसियसनले प्रधानन्यायधीश र गृह मन्त्रालयले अदालतलाई युद्धमैदान बनाउन खोजेको आरोप लगाएको छ ।बिहीबार एशोसियसनको सभाहलमा पत्रकार सम्मेलन गर्दै एशोसियसनले अदालतमा एसआरएल हतियारसहितका दंगा प्रहरी भित्र्याउने अनुमति दिएर अदालत प्रशासन र गृह प्रशासनले न्यायको मन्दिरलाई युद्धमैदान बनाउन खोजेको आरोप लगाएको हो ।

‘न्यायको मन्दिरलाई युद्धमैदान बनाउन खोजियो,’ बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठद्वारा जारी विज्ञप्तिलाई उपाध्यक्ष अधिवक्ता ईश्वरीप्रसाद भट्टराईले वाचन गर्दै भन्नुभयो, ‘अदालतलाई युद्धमैदान बनाउन एसएलआर हतियारसहितको प्रहरी प्रवेश गराएर कानुन व्यवसायीमाथि दमन गरियो ।’

बारले शुक्रबारदेखि थप सशक्त विरोधका कार्यक्रम गर्ने पनि जनाएको छ । उसले बार परिसरभित्र कानुन व्यवसायीलाई दिइएको धम्कीप्रति खेद प्रकट गर्दै बारको गेटमा बसेका प्रहरीप्रति पनि शंका प्रकट गरेको छ ।उपाध्यक्ष भट्टराईले अदालतमा हतियारसहितको दंगा प्रहरी प्रवेश गराएको विषयमा छानविन गर्न माग गरेको छ । छानविनको प्रतिवेदन र स्पष्टिकरणको आफूहरुलाई चित्त नबुझे घटनालाई अन्तर्राष्ट्रियकरण गर्ने चेतावनीसमेत उहाँले दिनुभयो ।

बारले शुक्रबारदेखि नै सर्वोच्च परिसरमा तैनाथ गरिएको दंगा प्रहरी हटाउन गृह र अदालत प्रशासनलाई आग्रह गर्दै त्यसविरुद्ध हुने घटनाको जिम्मेवार प्रधानन्यायाधीश र गृह प्रशासन हुनेसमेत जनाएको छ । उपाध्यक्ष भट्टराईले प्रहरीले कानुन व्यवसायीमाथि प्रहरीले नाटकीय तरिकाले आक्रमण गरेको आरोप लगाउनुभयो । ‘प्रहरी अनौठो र नाटकीय तरिकाले कानुन व्यवसायीमाथि आक्रमण गरेको छ,’ उहाँले भन्नुभयो, ‘माथिबाट छेक्दै भित्रभित्रै कानुन व्यवसायीमाथि बुट प्रहार भएको छ ।’

बारले पछिल्लो दुई सातादेखि वर्तमान प्रधानन्यायाधीशबाट स्वतन्त्र न्यायापालिकाको गरिमा कायम हुन नसक्ने, न्यायापालिका स्वतन्त्र रहन नसक्ने र भ्रष्टाचाररहित न्यायापालिकाको परिकल्पना गर्न नसकिने भन्दै राजीनामाको माग गर्दै विरोध प्रदर्शशन जारी राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू