कतारसँगको तीन खेलको टी–२० शृङ्खला नेपाली महिला टोलीले जितेको छ । आज बुधवार भएको दोस्रो खेल ६१ रनले जितेसँगै नेपालले एक खेलअघि नै शृङ्खला जितेको हो ।आज कतारको वेस्ट इन्ड पार्कमा नेपालले दिएको एक सय ३० रनको लक्ष्य पछ्याएको कतार १९ ओभर तीन बलमा ६८ रनमा अलआउट भयो । बलिङतर्फ नेपालकी सरस्वती कुमारीले चार, रुबिना क्षेत्रीले दुई तथा सबनम राई, संगीता राई र कविता जोशीले एक÷एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर एक सय २९ रन बनायो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ५० रन बनाइन् । उनको यो पहिलो अन्तर्राष्ट्रिय अर्धशतक हो । यस्तै अप्सरी बेगमले नटआउट २३ रन बनाइन् । नेपालले हिजो मङ्गलवार पहिलो खेलमा कतारलाई एक सय १९ रनले हराएको थियो । कतारसँग भोलि बिहीवार तेस्रो खेल खेलेपछि नेपाली टोली टी–२० विश्व कप छनोट खेल्न सिधै यूएई जानेछ ।
छनोटको पहिलो खेलमा नेपालले आउँदो ६ गते हङकङसँग, ७ गते भुटानसँग, ९ गते ओमानसँग, १० गते मलेसिया र ११ गते यूएईसँग खेल्नेछ । सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी–२० विश्व कपका लागि नेपालसहित ६ देशले ग्लोबल छनोटका लागि यूएईमा एसिया छनोट खेल्न लागेका हुन् । समूह विजेता टोलीले ग्लोबल छनोट खेल्न पाउनेछ ।