अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१४ | Colorodo: 19:29

व्यवसायी मैत्री कर प्रणाली बनाउने सरकारको तयारी – अर्थमन्त्री शर्मा

बिआरटीनेपाल २०७८ मंसिर १ गते ७:१४ मा प्रकाशित

अर्थमन्त्री जनार्दन शर्माले डिजिटल कर प्रणालीलाई थप व्यवस्थित बनाएर व्यवसायी मैत्री कर प्रणाली बनाउन सरकार लागि परेको बताउनु भएको छ । १० औँ राष्ट्रिय कर दिवसको अवसरमा बुधवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले डिजिटल कर प्रणालीलाई थप व्यवस्थित बनाएर व्यवसायी मैत्री कर प्रणाली बनाउन सरकार लागि परेको बताउनु भएको हो ।

अर्थमन्त्री शर्माले डिजिटल प्रणालीलाई व्यवस्थित रुपमा पूर्ण लागू गर्नको लागि सरकार मात्र नभई करदाता र कर प्रशासन समेतले त्यसको व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले त्यसको लागि आवश्यकता अनुसारको दक्ष जनशक्ति र प्रविधिको विकाससमेत अझ बढाउँदै जानु पर्ने बताउनुभयो ।

मन्त्री शर्माले कम्प्युटर बिना व्यापार गरिरहेको पसलहरुमा गएर हस्तक्षप तथा नियन्त्रण गर्न नमिल्ने बताउनुभयो । उहाँले कर दबाव नभई आवश्यकता भएको बताउनुभयो । अर्थमन्त्री शर्माले कर विवादको अवस्थाबारे विवरण सार्वजनिक गर्न राजस्वका अधिकारीहरुलाई निर्देशन पनि दिनुभयो । कर विवादको अवस्था गुपचुप राख्ने विषय राम्रो नभएको बताउँदै उहाँले विवादित कर विवरण सार्वजनिक गर्न निर्देशन दिनुभयो । उहाँले चुहावटको सूचना दिनेलाई पुरस्कार दिने व्यवस्था अघि बढाउन पनि निर्देशन दिनुभयो ।

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले सरकारले व्यवसायीलाई कर कार्यालयसम्म जानु नपर्ने गरी सबै कर प्रणालीलाई व्यवसायी मैत्री कर प्रणाली निर्माण गर्न लागेको बताउनुभयो । उहाँले कर प्रणालीमा सुधार गर्ने काम सबैको भएकोले यसमा सरोकारवाला निकाय र आम नागरिकहरुले पनि सहयोग गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू