अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२५ | Colorodo: 19:40

टी–२० एसिया छनोट : नेपालकाे १ सय १९ रनको शानदार जित

बिआरटीनेपाल २०७८ कार्तिक ३० गते ६:४८ मा प्रकाशित

टी–२० एसिया छनोटको तयारी स्वरूप कतारसँगको पहिलो खेलमा नेपाली राष्ट्रिय महिला क्रिकेट टीमले १ सय १९ रनको शानदार जित निकालेको छ । १ सय ४८ रनको लक्ष्य पछ्याएको कतारकाे राष्ट्रिय महिला टोली ११.५ ओभरमा सबै विकेट गुमाएर जम्मा २७ रनमा समेटियो । उसका लागि कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ नेपालका रुबिना क्षेत्रीले तीन, कविता कुँवर र सीता रानमगरले दुई–दुई तथा करुणा भण्डारीले एक विकेट लिए ।त्यसअघि दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा टास हारेर पहिला ब्याटिङमा तानिएको नेपालले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ४६ रन बनायो । उसका लागि इन्दु वर्माले ५५ रन बनाउँदै अर्धशतकीय इनिङ्स खेलिन् ।

यस्तै सीता राना मगरले ३९ रन जोड्दा सरिता मगरले २१ तथा कविता कुँवरले ८ रन जोडिन् ।नेपालले आईसीसी वुमन्स टी–२० एसिया छनोटका खेल खेल्न मंसिर ३ गते युएई जानेछ । पहिलो खेलमा मंसिर ६ गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ भने मंसिर ७ गते भुटान र ९ गते कुवेतसँग खेल्ने तालिका छ ।

कतारसँगको प्रतिस्पर्धा पछि नेपालको लक्ष्य वुमन्स टी–२० एसिया छनोटमा सहभागी हुँदै शीर्ष स्थानमा रहनेछ । नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र युएई गरी ६ राष्ट्रले छनोटमा सहभागिता जनाउनेछन् । शीर्ष स्थानमा रहने टिमले अघिल्लो चरणमा स्थान बनाउनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू