अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५६ | Colorodo: 06:11

कोप–२६ लम्बियो, गरिब देशलाई दिइने वित्तीय सहायतासम्बन्धी वार्तामा सहमति जुटेन

बिआरटीनेपाल २०७८ कार्तिक २८ गते ६:५२ मा प्रकाशित

स्कटल्याण्डको ग्लास्गोमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२६ लम्बिएको छ ।
सम्मेलनको अन्तिम घोषणासम्बन्धी ड्राफ्ट तयार पार्न भइरहेका वार्ताहरू लम्बिँदा तोकिएको अवधि नोभेम्बर १२ मा सम्मेलन नसकिएको हो । जलवायु परिवर्तनको गम्भीर प्रभाव टार्नका लागि अपनाइने भावी रणनीतिसम्बन्धी वार्ता अन्तिम चरणमा पुगेको छ । तर, देशहरूको स्वार्थ र अडानका कारण वार्ता लम्बिएको हो ।

कोइला तथा अरु खनिज इन्धनबाट स्वच्छ ऊर्जामा जानका लागि दिइने सहुलियत तथा जलवायु परिवर्तनसँग जुझ्नका लागि गरिब देशलाई दिइने वित्तीय सहायतासम्बन्धी वार्तामा सहमति जुट्न सकेको छैन । यी देशले जलवायुजन्य विपदसँग जुझ्न विकसित देशबाट वित्तीय सहयोग पर्याप्त मात्रामा हुनुपर्ने अडान राख्दै आएका छन् । तर, धनी देशहरू आफ्नो वित्तीय दायित्व सकेसम्म सीमित गर्न चाहन्छ ।

शुक्रबार सार्वजनिक गरिएको प्रस्तावित सम्झौतामा कोइला र खनिज इन्धनको प्रयोग अन्त्य गर्ने वाचालाई कमजोर पारिएको छ । अभियन्ताहरूले त्यसको तीव्र आलोचना गरिरहेका छन् भने अतिकम विकसित, हिमाली तथा साना टापु राष्ट्रहरूले त्यसको गम्भीर प्रभाव आफूहरूले भोग्नु पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । ड्राफ्टमा हरितगृह ग्यासको उत्सर्जन कटौतीका लागि देशहरूले आफ्नो समय सीमा अघि ल्याउन आग्रह गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू