अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०९ | Colorodo: 09:24

नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा लेखक तथा साहित्यकार परिचयपत्र वितरण शुरू

बिआरटीनेपाल २०७८ कार्तिक २८ गते ६:४१ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली पौरख र गौरवभित्र लुकेर बसेका कैयौँ प्रतिभालाई बाहिर ल्याई नेपालको अपार बौद्धिक क्षमतालाई विश्वसामु चिनाउनुपर्ने बताउनुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको ३६औँ प्राज्ञसभाको उद्घाटनका अवसरमा प्रतिष्ठानका प्रमुख संरक्षक समेत रहनुभएका प्रधानमन्त्री देउवाले भौतिकरूपमा जतिसुकै उन्नत भए पनि सांस्कृतिकरूपमा प्रगति नगर्ने मुलुकले समृद्धि हासिल गर्न नसक्ने बताउनुभएको हो ।

उहाँले महाकवि लक्ष्मीप्रसाद देवकोटाको परिकल्पना र प्राज्ञिक व्यक्तित्वको अग्रसरतामा स्थापित प्रतिष्ठानले मुलुकको भाषा, साहित्य, संस्कृति, दर्शन आदिका क्षेत्रमा महत्वपूर्ण कार्य गरेको बताउँदै आगामी दिनमा पनि प्राज्ञिक अध्ययन र सांस्कृतिक संरक्षणमा थप योगदान गर्नुपर्ने धारणा राख्नुभयो ।

समयको मागअनुसार प्राज्ञिक सामग्रीको उत्पादन हुनुपर्नेमा पनि प्रधानमन्त्रीको जोड थियो । प्रधानमन्त्री देउवाले महाकवि देवकोटा सङ्ग्रहालय निर्माणले देवकोटाप्रति सम्मान हुने उल्लेख गर्दै सभाबाट सांस्कृतिक क्षेत्रमा दूरगामी प्रभाव पार्ने निर्णय गर्ने अपेक्षा व्यक्त गर्नुभयो ।

समारोहमा प्रधानमन्त्री देउवाले बहुप्रतिक्षित लेखक तथा साहित्यकार परिचयपत्र वितरण कार्यको आरम्भ गर्नुभयो । प्रधानमन्त्रीबाट पूर्व सदस्यसचिव तथा वाङ्मय शताब्दी पुरुष जोशी, कुलपति गङ्गाप्रसाद उप्रेती, पूर्वकुलपति काइँला र पूर्व सदस्यसचिव गीता केशरीलाई परिचयपत्र प्रदान गरी लेखकरसाहित्यकार परिचयपत्र वितरण गरिएको थियो । प्रतिष्ठानका सदस्यसचिव जगतप्रसाद उपाध्यायले प्राप्त आवेदनका आधारमा क्रमशः परिचयपत्र वितरण कार्यलाई अगाडि बढाइने जानकारी दिनुभयो ।

सभामा प्रतिष्ठानको पुनः डिजाइन गरिएको वेबसाइटको औपचारिक आरम्भ पनि गरियो । सो वेबसाइटमा अनलाइनबाटै हल बुकिङ तथा पुस्तक–पत्रिका बिक्री वितरणको समेत व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू