दक्षिण तथा मध्य–एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आगामी बुधबार नेपाल भ्रमणमा आउने हुनुभएको छ । अमेरिकी स्टेट डिपार्टमेन्टले आज (शनिवार) एक विज्ञप्ति जारी गर्दै सहायक मन्त्री लू नोभेम्बर १७ मा काठमाडौ आउन लाग्नुभएको जनाएको हो ।
काठमाडौंमा उहाँले प्रधानमन्त्री शेरबहादुर देउवासहितका अन्य शीर्षस्थ नेताहरुलाई भेट्ने समेत उल्लेख छ ।नोभेम्बर १५ मा माल्दिभ्स पुग्ने उहाँले त्यहाँ विदेशमन्त्री अहमद खलिललाई भेट्ने हुनुभएको छ । मालेको भ्रमण पूरा गरी उहाँ त्यहाँबाट काठमाडौं आउन लाग्नुभएको विज्ञप्तिमा जनाइएको छ ।
अमेरिकी अनुदान सम्झौता एमसीसी संसदबाट अनुमोदन हुन नसकेको र दलहरुबीच मतैक्य हुन नसकिरहेको बेला अमेरिकाले आफ्ना कूटनीतिज्ञलाई नेपाल पठाउन लागेको बताइएको छ । सहायक मन्त्री लूको काठमाडौं भ्रमणको क्रममा नेपालमा संचालित अमेरिकी परियोजनाहरुबारे समेत द्धिपक्षीय छलफल हुने विज्ञप्तिमा जनाइएको छ ।