अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३० | Colorodo: 19:45

‘अफगानिस्तानका ७५ प्रतिशत छात्रा विद्यालय फर्किसके’– तालिबान

बिआरटीनेपाल २०७८ कार्तिक २७ गते ७:१८ मा प्रकाशित

अफगानिस्तानमा गठन भएको तालिबान सरकारले बालिकाहरूलाई पनि फेरि विद्यालय जाने वातावरण बनाइसकिएको दाबी गरेको छ ।अन्तरिम तालिबान सरकारका विदेशमन्त्री अमिर खान मुत्ताकीले ७५ प्रतिशत छात्रा विद्यालय फर्किसकेको दाबी गरेका छन् । तालिबान सरकारले छात्रालाई विद्यालय जान नदिएको भन्दै आलोचना भइरहेका बेला उनले सरकारले छात्रालाई विद्यालय जान दिएको स्पष्ट पारे ।

तत्कालिन तालिबान विद्रोही समूहले गत अगस्टमा सत्ता कब्जा गरेपछि केही समय बालिकाहरूलाई विद्यालय जान नदिएको कुरा भने तालिबान नेताहरूले पनि स्विकार गरेका थिए । महिलाहरूले रोजगारी गर्न नहुने, सार्वजनिक ठाउँमा जादाँ कम्तीमा एक जना पारिवारिक पुरुष सदस्यसँग जानु पर्ने, विद्यालयमा पनि छुट्टै कोठामा बस्नुपर्ने, लगायतका नियम लगाएका थिए ।

तालिवान नेताहरूले यो नीतिको विश्वभरीबाट आलोचना र विरोध भएपछि अहिले उनीहरू लचक देखिएका छन् । तालिवान सरकारले अघिल्लो कार्यकालमा पनि महिलाहरूको स्वतन्त्रता कुण्ठीत गरेको भन्दै धेरै देशहरूले पहिलेदेखि नै तालिवान सरकारप्रति शंका गर्दै आएका छन् ।

अन्य देशहरूले शंका र असहयोग गरिरहेपछि त्यसलाई न्युनिकरण गर्न भन्दै पाकिस्तानमा विभिन्न देशका कुटनीतिज्ञ र अफगानिस्तानका विदेशमन्त्री बीचको बैठक भएको छ । त्यही बैठकका लागि अफगान विदेश मन्त्री पाकिस्तान पुगेका छन् । अफगानिस्तानको तालिबान सरकारको तर्फबाट पहिलो विदेश भ्रमणका रुपमा उनी पाकिस्तान पुगेका हुन । पाकिस्तान भ्रमणका क्रममा विदेशमन्त्री मुत्ताकीले अफगानिस्तानका लागि अमेरिकाका विशेष दूत थोमस वेस्टसँग पनि भेटवार्ता गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू