अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५९ | Colorodo: 20:14

आफ्नो पार्टीको तर्फबाट मुख्यमन्त्री र मन्त्री बनेकालाई विवादास्द काम नगर्न अध्यक्ष नेपालको निर्देशन

बिआरटीनेपाल २०७८ कार्तिक २७ गते ७:०५ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुख्यमन्त्री तथा मन्त्रीहरूलाई विवादास्पद काम नगर्न निर्देशन दिनुभएको छ । आजबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकमा सम्बोधन गर्दै उहाँले आफ्नो पार्टीको तर्फबाट सङ्घ र प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रीहरूलाई जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिनुभएको हो ।

उहाँले मन्त्री तथा मुख्यमन्त्रीहरूले आफ्नो क्षेत्रमा भएको साधन र स्रोत उचित प्रयोग गरी जनतालाई बढीभन्दा बढी सेवा सुविधा दिनुपर्ने, सुशासन कायम गर्नुपर्ने र नयाँनयाँ काम गरी पार्टीप्रति सकारात्मक छाप छाड्न मेहनत गर्नुपर्ने बताउनुभयो । अध्यक्ष नेपालले संविधान र लोकतन्त्र जोगाउन आफूहरूले आफूहरूकै पहलमा वर्तमान गठबन्धन बनेको बताउनुभयो ।

उहाँले प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्री पाएको र सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा पनि सरकारमा सहभागी भएको बताउँदै अब छिट्टै प्रदेश २ को सरकारमा पनि आफूहरुको सहभागिता हुने बताउनुभयो । यसैबीच, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् । सानेपामा जारी दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले शपथ लिएका हुन् । एकीकृत समाजवादीले ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ । केन्द्रीय सदस्यहरूलाई अध्यक्ष माधवकुमार नेपालले शपथ गराउनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू