अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५९ | Colorodo: 20:14

महाधिवेशन नजिकिएसँगै सभापति देउवा आफू निकट नेतासँग छलफलमा

बिआरटीनेपाल २०७८ कार्तिक २५ गते ७:१८ मा प्रकाशित

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको निर्धारित मिति नजिकिएसँगै पार्टी नेतृत्वका आकांक्षी नेताहरुले आन्तरिक छलफललाई तिव्र बनाएका छन् । महाधिवेशन केन्द्रित रणनीति तय गर्न प्रधानमन्त्री समेत रहनुभएका पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार आफु निकट शीर्ष तहका नेताहरुसंग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको हो । शनिवार वडा र जिल्ला अधिवेशन हुन बाँकी जिल्लाहरुमा आफ्नो अवस्था, अधिवेशनबाट आफ्नो पक्षलाई बलियो बनाउन आवश्यक रणनीतिमा छलफल केन्द्रित रहेको जनाइएको छ ।आगामी महाधिवेशनमा संस्थापन पक्षबाट साझा उम्मेद्वार तय गर्ने र आवश्यक अन्य रणनीतिका विषयले पनि बैठकमा प्रवेश पाएको बताइएको छ ।

छलफलमा सहभागी सहमहामन्त्री डा. प्रकाशशरण महतले कार्तिक २७ गते हुने १३ जिल्लाको वडा अधिवेशन र अधिवेशन हुन बाँकी जिल्लाकाहरुको अधिवेशनका सम्बन्धमा छलफल भएको जानकारी दिनुभयो । छलफलमा सभापतिमा उम्मेद्वारी घोषणा गरेका उपसभापति विमलेन्द्र निधि, अर्का उपसभापति विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का लगायतका नेताहरुको सहभागिता रहेको जनाइएको छ । नेतृत्वका अन्य आकांक्षी नेताहरुले पनि आन्तरिक छलफल र जिल्ला दौडाहालाई तिव्रता दिएका छन् ।

कांग्रेसले आगामी मंसिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशनको मिति तय गरेको छ । यसैबीच, बरिष्ठ नेता रामचन्द्र पौडेलले आफु निकट केन्द्रीय सदस्यहरुको भेला बोलाउनुभएको छ । शुक्रबार दिउँसो काठमाडौमा बोलाइएको बैठकमा कार्तिक २८ गते बस्ने केन्द्रीय समितिको बैठकका लागि साझा धारणा बनाउने जनाइएको छ । यस्तै, महाधिवेशनको आवश्यक तयारीका समबन्धमा पनि भेलामा छलफल हुने बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू