अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१४ | Colorodo: 19:29

चीन र अमेरिकाबीच दुर्लभ सहमति, राष्ट्रसंघीय महासचिवद्वारा खुसी व्यक्त

बिआरटीनेपाल २०७८ कार्तिक २५ गते ७:०३ मा प्रकाशित

विश्व जलवायु परिवर्तनमा सवैभन्दा बढी भूमिका रहेका अमेरिका र चीनले जलवायु परिवर्तन संकट समाधानका लागि मिलेर काम गर्ने दुर्लभ सहमति गरेको घोषणा गरेका छन् ।स्कटल्याण्डको ग्लास्गो शहरमा जारी जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा दुई देशले संयुक्त वक्तव्य जारी गर्दै चीन र अमेरिकाले सन् २०१५ मा फ्रान्समा भएको तापमान वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सियसभित्रै राख्ने लक्ष्य प्राप्तिका लागि आगामी दशकमा मिलेर काम गर्ने सहमति गरेका हुन् ।

उनीहरुले लक्ष्य प्राप्तिका लागि हुने प्रयासहरूलाई दोब्बर बनाउने पनि बताएका छन् । चीनका वरिष्ठ जलवायु वार्ताकार सिए छेनहुवाले पेरिस प्रतिवद्धता र अहिले भइरहेका क्रियाकलापबीच ठूलो खाडल छ भन्ने कुरा दुवै पक्षले स्वीकारेको बताउनुभयो । उनका अनुसार पेरिस प्रतिवद्धताको कार्यान्वयनका लागि ठोस कार्ययोजना बनाउन दुवै देशले मिलेर काम गर्ने छन् ।

यस्तै अमेरिकी राष्ट्रपति जो बाइडेनका जलवायु सम्बन्धी विशेष दूत जोन केरीले चीनसँग सहमति अविश्वासको वातावरण कम गर्ने कदम भएको भन्दै यसले राष्ट्रसंघीय सम्मेलनलाई सफल बनाएको प्रतिक्रिया दिनुभयो । यसै विषयमा अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच आगामी साता भर्चुअल वार्ता हुनसक्ने पनि जनाइएको छ ।

सम्मेलनका क्रममा चीन र अमेरिकाबीच सहमति भएपछि राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरसले पनि खुसी व्यक्त गर्नुभएको छ । विश्वमा भइरहेको कार्बन उत्सर्जनमा ४० प्रतिशत भूमिका अमेरिका र चीनको रहेको छ । तर, यी दुई देश नै अहिलेसम्म जलवायु परिवर्तन संकट रोक्ने प्रतिवद्धताहरू कार्यान्वनयमा मूख्य बाधक रहँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू