अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४३ | Colorodo: 15:58

राष्ट्रप्रेम

नवराज न्यौपाने 'मौन' २०७८ कार्तिक २४ गते ८:३४ मा प्रकाशित

कविता
म प्रेममा डुबूँ भिजूँ र स्नेहले ध्ररा भरूँ
विशाल भाव बोक्छु है मिलापका कुरा गरूँ
सदैव साँच्छु भावना र गर्छु शान्ति कामना
समृद्ध पार्न देश यो म बुझ्छु सार भावना ।१।

तिमी थियौ नि साथमा समस्त गेह स्वर्ग भो
धनै रहेछ जिन्दगी कमाउने नि तर्क भो
घरै बसेर हुन्न है भनेर आज टाढिएँ
गमेर चित्र चित्रमा हिसाबले म छाडिएँ ।२।

मुहार देख्छु देशको र झर्छ आँसु रातमा
बढेर जान्छ सम्झना सधैँ सधैँ प्रभातमा
बुबा मुमा र श्रीमती अबोध बाल सन्तति
बसेछ याद झल्झली सकिन्न भुल्न आज ती ।३।

बढेछ देशप्रेम यो विदेशमा हुँदा झनै
म काम गर्छु जोडले भुली व्यथा सनै सनै
युवा सबै बिदेसिए छ खेत आज बन्जर
यसै यसै रहे कुरा स्वदेश आज बन्छ र ।४।

हँसाउने उठाउने समस्त शक्ति हो युवा
यो देश हाँक्न तम्सिने अनन्त भक्ति हो युवा
र प्रेम आज पोख्दछौँ धरा सधैंं हँसाउन
सिकेर सीप तेजिलो स्वदेशमा रमाउन ।५।