अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५९ | Colorodo: 20:14

मंसिरमै महाधिवेशन सक्नुपर्ने कांग्रेसको बाध्यता, महाधिबेशनको कार्यतालिका अनुमोदन गर्ने तयारी

बिआरटीनेपाल २०७८ कार्तिक २४ गते ६:५६ मा प्रकाशित

नेपाली कांग्रेसले पार्टीको केन्द्रीय निर्वाचन समितिमार्फत परिवर्तन गरेको १४ औं महाधिवेशनको कार्यतालिका २८ गते बस्ने केन्द्रीय समितिबाट अनुमोदन गर्ने तयारी गरेको छ । पटक–पटक पर सर्दै आएको महाधिवेशनको कार्यतालिका पछिल्लो पटक मंसिर २४ देखि २६ गतेसम्म तय गरिएको मितिमा पनि सम्पन्न हुनेमा आशंका बढेको छ । यो संगै राजनीतिक क्षेत्रका जानकारहरू भने कांग्रेस मंसिरभित्रै महाधिवेशन गरिसक्नुपर्ने विकल्पविहिन दबाबमा रहेको टिप्पणी गर्न थालेका छन् ।

दशैं, तिहार र छठ पर्वका कारण रोकिएको महाधिवेशन प्रक्रिया कार्तिक २७ देखि सुरु गर्ने कांग्रेसको तयारी रहेको छ । लामो रस्साकस्सीबीच बल्लबल्ल क्रियाशील सदस्यताको टुङ्गो लगाएको कांग्रेसले पछिल्लो कार्यतालिकाले तय गरेको समयमा पनि महाधिवेशन सम्पन्न गर्नेमा अझै आशंका कायमै छ ।

महाधिवेशनको मिति सार्ने संवैधानिक र कानुनी बाटा बन्द भईसकेको कारण कांग्रेसलाई मंसिरभित्रै महाधिवेशन गर्नैपर्ने नैतिक र कानुनी दबाब रहेको छ । आगामी माघ महिनाभित्रै सम्पन्न गरिसक्नुपर्ने राष्ट्रियसभा सदस्य निर्वाचनका कारण पनि कांग्रेसलाई मंसिरभित्रै महाधिवेशन सम्पन्न गर्नुपर्ने अर्को बाध्यता छ । चुनावमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता अनिवार्य हुन्छ ।

संविधानको धारा २९६ ले राजनीतिक दलहरूको विधानमै हरेक ५ वर्षमा केन्द्रीय र प्रादेशिक पदाधिकारीहरुको निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था राख्न भनेको छ । विशेष परिस्थितिमा ५ वर्षभित्र हुन नसके त्यसको ५ महिना थप गर्न सकिने व्यवस्था संविधानमा छ । संविधानको उक्त व्यवस्था पालना नगरेको दललाई निर्वाचन आयोगले चुनावी प्रयोजनको लागि दल दर्ता गर्न नसक्ने प्रावधान रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू