अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०९ | Colorodo: 19:24

सर्वोच्च अदालतको इजलास निरन्तर रुपमा प्रभावित

बिआरटीनेपाल २०७८ कार्तिक २३ गते ७:२० मा प्रकाशित

प्रधानन्यायाधिस र न्यायाधिसहरुको विवादका कारण सर्वोच्च अदालतको इजलास निरन्तर रुपमा प्रभावित भइरहेको छ । हिजो बन्दीप्रत्यक्षीकरणको मुद्धा हेरेका केही न्यायाधिसहरुले आज पनि केही मुद्धा हेरेका छन् तर अन्य न्यायाधिसहरुले भने तोकिएको इजलास बहिस्कार गरेका छन् । इजलास तोकिएकामध्ये तेज बहादुर केसी र मनोजकुमार शर्माको इजलासमा बन्दी प्रत्यक्षीकरणको एउटा रिटमाथि सुनुवाई भएको छ ।

अन्य मुद्दा भने हेर्न नभ्याइने सूचीमा राखिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले इजलास तोके पनि न्यायाधीशहरूले मुद्दा नहेरेका हुन् । जबराको राजीनामाको अडानमा रहेका न्यायाधीशहरु इजलासमा नबसी आन्तरिक छलफलमा जुटेका छन् । प्रधानन्यायाधीश जवराले भने आफ्नो इजलासमा रहेको मुद्धा हेर्नुभएको छ । उहाँले एउटा मुद्दा तामेलीमा राख्दै अर्को मुद्धामा भने कारण देखाउ आदेश जारी गर्नुभएको छ ।

आजको पेसीमा १० वटा इजलास गठन गर्नुभएका प्रधानन्यायाधीश जबराले आफूलाई मात्रै एकल इजलास तोक्नुभएको थियो । प्रधानन्यायाधिसको राजीनामा माग गर्दै सुरु भएको आन्दोलनका कारण सर्वोच्चको इजलास प्रभावित भइरहेको छ । जसका कारण सर्वसाधारणलाइ प्रभाव परेको भन्दै आलोचना पनि भइरहेको छ । नेपाल बार एशोसिएशनले भने प्रधानन्यायाधीश जबराविरुद्धको आन्दोलनमा साथ दिन सेवाग्राहीहरूलाई समेत आग्रह गरेको छ ।

नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराविरुद्धको आन्दोलनमा साथ दिन सेवाग्राहीहरूलाई समेत अनुरोध गर्नुभयो । आज सर्वोच्च अदालत परिसरमा एक घण्टे धर्ना कार्यक्रमपछि आयोजित कोणसभामा अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराविरुद्धको आन्दोलनलाई सशक्त बनाउन यही २५ गते बिहीबारदेखि काठमाडौँ उपत्यका भित्रको सबै अदालतहरूमा २ घण्टा इजलास नबस्ने घोषणा गर्नुभयो ।

बिहान १० बजेदेखि १२ बजे सम्म काठमाडौँ उपत्यका भित्रको उच्च अदालत, विशेष अदालत, जिल्ला अदालत, न्यायाधिकरणमा इजलास नबस्ने निर्णय गरिएको जानकारी दिनुभयो । प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आफूहरूको आन्दोलन जारी रहने चेतावनी उहाँको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू