अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४२ | Colorodo: 17:57

राजेश्वर देवकोटाको साहित्यिक र दार्शनिक व्यक्तित्व माथि परिचर्चा

बिआरटीनेपाल २०७८ कार्तिक २२ गते ९:१४ मा प्रकाशित

अमेरिका स्थित ‘नर्थ क्यारोलाइना नेपाली साहित्य समाज’ ले ‘हरि सांस्कृतिक केन्द्र, गोर्खाको सह-आयोजनामा ‘राजेश्वर देवकोटाको साहित्यिक र दार्शनिक व्यक्तित्व माथि परिचर्चा’ भन्ने मूल विषय लिएर एक साहित्यिक कार्यक्रम गरेको छ । विशिष्ट विद्वानहरू लगायत साहित्यमा रुचि राख्ने साहित्यिक अनुरागीहरूको ठुलो सङ्ख्यामा अमेरिकाका विभिन्न राज्यबाट, काठमाडौँ, पोखरा, गोर्खा, चितवन, फ्रान्सबाट पनि सहभागीहरू उपस्थिति रहेको थियो । जूम प्रविधिमा सञ्चालित कार्यक्रम करिब चार घण्टा चलेको थियो ।

उक्त कार्यक्रममा नेपालका सम्बन्धित विषयका विद्वत पाहुनाहरूमा डा. टिकाराम आचार्यद्वारा ‘राजेश्वर देवकोटाका उपन्यासमा दर्शन पक्ष’, श्री केदारनाथ खनालद्वारा उहाँको समग्र साहित्य र संस्थामा योगदान, प्रा.डा. नारायणप्रसाद खनालद्वारा उहाँको कविता पक्ष्यमा तथा श्री विजयराज न्यौपाने द्वारा उहाँको ‘भिन्न व्यक्तित्व र विशेषता’ का बारेमा विस्तृत प्रकाश पार्नुभएको थियो |

डा. टिकाराम आचार्यले देवकोटाका उपन्यासमा सांख्य दर्शन विषयमा विद्यावारिधि गर्नुभएको छ | देवकोटाका उपन्यासहरू अरू धेरै पक्षबाट पनि अनुसन्धान गर्न सकिने उहाँले बताउनु भएको थियो | सकारात्मक सोचका धनी देवकोटाका उपन्यासहरूमा सांख्य दर्शनको बाहुल्यता पाइएको र उहाँका कृतिहरू यति दार्शनिक चिन्तनले भरिएका छन् कि यसमाथि छोटो समयमा विश्लेषण गर्नु भनेको समुन्द्रलाई यौटा ढुङ्गाको सहायताबाट म तर्छु भनेर धृष्टता गर्नु हो उहाँको भनाई थियो । करिब चालीस मिनटसम्म उक्त विषयमा विश्लेषण गर्नुभएको डा.आचार्यले सबै श्रोता वर्गलाई बौद्धिक खुराकले मन्त्रमुग्ध बनाउनु भयो ।

प्रा. डा. नारायणप्रसाद खनालले देवकोटाको मूल धार आख्यान भएता पनि उहाँको कृति ‘बुद्धि विनोद’ को व्यापक चर्चा गर्नुका साथै उहाँको अन्य काव्यको छोटो व्याख्या गर्नुभएको थियो | गोरखाका तीन साहित्यिक नक्षत्र मध्ये अन्य दुई श्री पूर्णप्रसाद ब्राह्मण र विनोद प्रसाद धितालका मूल विधा पनि आख्यान नै रहेको उल्लेख गर्नु भयो ।

श्री विजयराज न्यौपानेद्वारा उहाँको ‘भिन्न व्यक्तित्व र विशेषता’ माथि चर्चा गर्दै राजेश्वर देवकोटाको आख्यानमा दर्शनका कुरा, उहाँको काव्य व्यक्तित्वको कुरा साथै उहाँको जीवनका कुराहरूलाई सरल भाषामा चर्चा गर्नुभएको थियो । देवकोटाको पुर्ख्यौली केलाउँदै उहाँको परिवार सहितको गाउँले नै पण्डित गाउँ नाम आर्जित गरेको उल्लेख गर्दै बौद्धिक हिसाबले स्तरीय रहेको गाउँ बताउनु भयो । सानो र झिनो कदको देवकोटा भए पनि पछि उहाँको प्रतिभा सशक्त हुँदै गएको देखिएको कुरा बताउनु भयो |

श्री केदारनाथ खनालद्वारा उहाँको समग्र साहित्य र संस्थामा योगदानका बारेमा बोल्दै राजेश्वर देवकोटा बौद्धिकताको शिखर पुरुष भएको कुरा बताउनु भयो । त्यस समयमा विदेशी भाषा पनि पठन पाठन हुने गरेकोमा उहाँले नेपाली भाषाको पाठ्यपुस्तक लेख्ने जस्तो महत्त्वपूर्ण काम गरेको बताउनु भयो । देवकोटाले प्राप्त गरेका दुई पुरस्कारको (साझा र मदन) रकमबाट २०४६ सालमा हरि सांस्कृतिक केन्द्रको स्थापना गरेको र सो संस्था मार्फत पुरस्कार वितरण, कृति प्रकाशन, साहित्य प्रतियोगिता र अन्य संस्थाहरू खोल्न प्रोत्साहन गरेको उल्लेख गर्नु भयो |

उक्त कार्यक्रममा राजेश्वर देवकोटाका सुपुत्र श्री ईश्वर देवकोटाले आफूलाई कार्यक्रम पूज्य र पुण्य लागेको प्रकट गर्दै पिताजीद्वारा रचित उपन्यास “द्वन्द्व को अवसान” को वाचन सुन्दा सङ्गीतमय अनुभूति हुने र सङ्गीतमय हुने लय र धुन् नै चाहिने रहेनछ भन्ने भाव उल्लेख गर्नु भयो । त्यस्ता भावले नै फेरी फेरी सुन्दा पनि राग पराग आइरहेको बताउनु भयो । राजेश्वर देवकोटाका भाइ जगदीश्वर देवकोटाले विराट व्यक्तित्वका आफ्ना दाइलाई अझै चिन्न बाकी रहेको उल्लेख गर्नु भयो भने बुहारी कमला देवकोटाले बुवाको सामीप्यमा भाग्यले पुगेको भन्दै भक्ति भाव अर्पण गर्नुभयो ।

राजेश्वर देवकोटाका गाउँ नजिकै जन्मेका डा.ऋषि बस्ताकोटीले आफूले बाल्यकालदेखि सुन्दै आएका देवकोटाका अनेक बिम्बको चर्चा गर्दै कार्यक्रम रोचक ढङ्गले सहजीकरण गर्नुभएको थियो| नर्थ क्यारोलाइना नेपाली साहित्य समाजकी कोषाध्यक्ष सुजाता ढुङ्गेलले अध्यक्ष नम्रता गुरागाईँको शुभकामना सुनाउँदै सभा सुरुवात गर्नु भएको थियो ।

अन्य विद्वान वक्ताहरू र सहभागीहरूमा डा. हरिहर भट्टराई, श्री प्रसाद पण्डित, डा. अच्युत शर्मा, हरि सांस्कृतिक केन्द्रले प्रदान गर्ने हरि उत्कृष्ट प्रतिभा पुरस्कारबाट द्वारा सम्मानित स्रस्टाहरु: नेपाल संस्कृत विश्वविद्यालय पूर्व उपकुलपति शिवहरी मरहट्ठा, साहित्यकार द्वय श्रीमान् राजेन्द्र अर्याल, श्रीमती सिता अर्याल, साहित्यकार र केन्द्रका अध्यक्ष केदारनाथ खनाल हुनुन्थ्यो । साथै हरिहर अर्याल, दिनार श्रेष्ठ, डा.महेन्द्र न्यौपाने, नवराज पुडासैनी, मोहन सिटौला आदी हुनुन्थ्यो ।

नर्थ क्यारोलाइना नेपाली साहित्य समाजकी उमा शर्माले देवकोटाका लेखन शैली प्रस्तुत गर्दै केही घत लाग्दा पंक्तिहरु वाचन गरेर सुनाउनु भयो भने यसै संस्थाकी महासचिव निर्मला राजभण्डारीले देवकोटाका केही कविता वाचन गरेर सुनाउनु भयो ।

यस संस्थाका निवर्तमान अध्यक्ष श्री शिखर दुलालद्वारा विशिष्ट पाहुनाहरू र सम्पूर्ण सहभागी महानुभावहरूलाई स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया