अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३२ | Colorodo: 22:47

देशैभर भाइटीका लगाईदै, आज दिनभर टीका लगाउन मिल्ने

बिआरटीनेपाल २०७८ कार्तिक २० गते ३:४५ मा प्रकाशित

नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज भाइटीका लगाउने क्रम जारी छ । विहान ११ बजेर २ मिनेटमा उत्तम साइत रहे पनि विहानैदेखि टीका लगाउने क्रम शुरु भएको हो ।

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्ने गर्र्दछन् । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरंगी टीका लगाईदिने गर्दछन् ।

आजको दिनलाई यम द्वितीया पनि भनिन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाईदिए पछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीको पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।

यस वर्ष भाइटीका लगाइदिने पूर्व र लगाउने पश्चिम फर्कनुपर्ने राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यसो गर्दा वृश्चिक राशिमा रहेका चन्द्रमा दाहिने पर्नेछन् ।

शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नु पर्ने शास्त्रीय नियम छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनु पर्ने पनि समितिले जनाएको छ ।

लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र पर्शुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आराधना गरी दिदीबहिनीले दाजुभाईलाई तेलको धाराले छेकेर सप्तरङ्गी वा पञ्चरङ्गी टीका र मखमली, सयपत्री वा गोदावरी फूलका माला लगाइदिने गरिन्छ ।

प्रचलनमा सप्तरङ्गी टीका लगाउने गरिए पनि शास्त्रीय मान्यता भने रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा रङको टीका लगाउनु पर्ने उल्लेख छ ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने गर्दछन् । यसैबीच, काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा विहानैदेखि टीका लगाउनेहरुको घुईचो लागेको छ । वर्षभरिमा आज मात्रै खुल्ने यस मन्दिरमा दिदिबैनी नहुनेहरु टीका लगाउन जाने गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू