अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५८ | Colorodo: 09:13

ऊर्जामन्त्रीसँग फ्रान्सका राजदूतको शिष्टाचार भेट

बिआरटीनेपाल २०७८ कार्तिक १७ गते ९:३० मा प्रकाशित

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि फ्रान्सका राजदूत जिल बुरबाओले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा बुधबार भएको भेटवार्तामा उनीहरूबीच नेपाल–फ्रान्सबीचको आपसी सम्बन्ध र द्विपक्षीय चासोबारे छलफल गर्नुभयो । सो अवसरमा ऊर्जामन्त्री भुसालले ऊर्जा सञ्चिति तथा ‘हाइड्रो इनर्जी’सँग सम्बन्धी प्रविधिबारे चासो व्यक्त गर्दै नेपालमा उपलब्ध ऊर्जालाई व्यवस्थित गर्न चाहेको बताउनुभयो ।

उहाँले जलविद्युत् खपत गर्ने फ्रान्सका उद्योगलाई नेपालमा स्थापनाका लागि आवश्यक सहयोग उपलब्ध गराउने विश्वास दिलाउँदै त्यसका लागि पहल गर्न आग्रह गर्नुभयो । नेपालले जलवायु परिवर्तनको मार खेप्नुपरेको यथार्थ बताउँदै मन्त्री भुसालले अन्तर्राष्ट्रिय मञ्चमा नेपालजस्ता मुलुकका मुद्दालाई सक्रियतापूर्वक उठाउनुपर्नेमा जोड दिनुभयो । नेपाल–फ्रान्सबीच रही आएको आपसी सम्बन्ध आगामी दिनमा अझ विस्तार हुने विश्वास व्यक्त गर्दै मन्त्री भुसालले फ्रान्सले नेपाललाई उपलब्ध गराउँदै आएको आर्थिक एवं सामाजिक क्षेत्रको सहयोग निरन्तर हुने विश्वस व्यक्त गर्नुभयो ।

त्यसैगरी, फ्रान्सका राजदूत बुरबाओले ऊर्जा क्षेत्रमा फ्रान्सले विकास गरेको नयाँ प्रविधि नेपालमा भित्र्याउनका लागि आफ्नो देशका निजी कम्पनी इच्छुक रहेको बताउँदै त्यसका लागि सहयोग गर्न आग्रह गर्नुभयो ।उहाँले वैकल्पिक ऊर्जा एवं ऊर्जा सञ्चितिका सम्बन्धमा फ्रान्समा विकास भएका प्रविधि नेपाल ल्याउन चाहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू