अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५७ | Colorodo: 19:12

गौतम बुद्ध विमानस्थलमा अब ५ महिनाभित्र अन्तर्राष्ट्रिय उडान हुन्छ – महानिर्देशक क्षेत्री

बिआरटीनेपाल २०७८ कार्तिक १७ गते ९:२४ मा प्रकाशित

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अबको पाँच महिनामा अन्तर्राष्ट्रिय उडान हुने बताउनुभएको छ । आज बुधवारको कुराकानीका क्रममा महानिर्देशक क्षेत्रीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्राविधिक स्थितिको काम लगभग सकिसकेको बताउँदै अबको पाँच महिनामा अन्तर्राष्ट्रिय उडान हुने बताउनुभएको हो । उहाँले अबको एक महिनामा परीक्षण उडान गर्ने र त्यसबीचमा आफ्ना आन्तरिक गृहकार्य सम्पन्न गर्ने लक्ष्य लिएको बताउनुभयो ।

महानिर्देशक क्षेत्रीले नाकाबन्दी, भूकम्प, आन्तरिक गृहकार्यमा ठेकेदारले पैसाको जोहो गर्न नसक्नु, पालिकासँग समन्वय गर्न नसक्नु, कोभिड–१९ का कारणले ढिला भएको बताउनुभयो । उहाँले एरो थाइले पहिलेको सहमतिअनुसार नै परीक्षण उडान गरिदिने भएको जानकारी दिँदै अब सस्तो र राम्रो कम्पनीलाई छानेर परीक्षण उडान भर्ने बताउनुभयो ।महानिर्देशक क्षेत्रीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधारको ८० प्रतिशत सकिएको बताउनुभयो ।

उहाँले सरकारले रिट्ठेपानी डाँडा काट्ने काम गरिदिए र ल्यान्डफिल बनाइदिए अबको ६ महिनामा परीक्षण उडान हुने बताउँदै एक वर्षभित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि अन्तर्राष्ट्रिय उडान भर्न सकिने बताउनुभयो ।महानिर्देशक क्षेत्रीले युरोपियन युनियन (ईयू) ले नेपालको एअरलाइन्सलाई कालोसूचीमा राखेकाले त्यसबाट हटाउन आफ्नो नेतृत्वमा काम भइरहेको बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनमा ल्याउने, पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनयोग्य बनाउने बताउनुभयो । महानिर्देशक क्षेत्रीले आफ्नो पहलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पीसीआर परीक्षण गर्दा लाग्ने शुल्क दुई हजारबाट एक हजार दुई सय रुपैयाँमा झारेको बताउनुभयो ।

महानिर्देशक क्षेत्रीले कोरोनाका कारणले काममा केही असर गरे पनि काम नरोकिएको बताउनुभयो । ‘केही असर गरेको छ, केही काम रोकिएका छन् तर काम अब सुरु भइसकेको छ, केही ढिला मात्रै भएको हो’, उहाँले भन्नुभयो ।

पोखरा विमानस्थलमा भैरहवा भन्दा राम्रो विमानस्थल बन्न लागेको र निकट भविष्यमै सञ्चालनमा आउने उहाँले बताउनुभयो । उहाँले निजगढ विमानस्थलको काम पनि सुरु भइसकेको र लगानीको जोहो कसरी गर्ने ? कुन मोडलमा गर्ने ? भन्ने निर्णय गरे प्राधिकरण तयार रहेको बताउनुभयो । महानिर्देशक क्षेत्रीले अहिले नेपालमा हरेक जिल्लामा विमानस्थल चाहिन्छ भन्ने कुरा विकास भएको भए पनि यो सम्भव नभएको बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू