अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३२ | Colorodo: 22:47

चीनद्वारा नेपाललाई १६ लाख डोज भेरोसेल खोप हस्तान्तरण

बिआरटीनेपाल २०७८ कार्तिक १७ गते ९:१० मा प्रकाशित

चीनले नेपाललाई अनुदान सहायता स्वरूप थप १६ लाख डोज कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराएको छ । आज बुधवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा एक कार्यक्रमका बीच चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडालाई त्यो खोप हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले चीन सरकारले चालु आर्थिक वर्षभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप दिइ सक्ने योजनालाई पूरा गराउन सहयोग स्वरूप खोप उपलब्ध गराउँदै आएकोमा आभार व्यक्त गर्नुभयो । उहाँले अहिलेसम्म चीन सरकारले नेपाललाई ३४ लाख मात्रा भेरोसेल खोप अनुदान सहायताका रूपमा उपलब्ध गराएको पनि जानकारी दिनुभयो ।

कार्यक्रममा चिनियाँ राजदूत यान्छीले नेपाल सरकारको कोभिडविरुद्धको अभियानमा साथ दिन चीन सरकारले आवश्यक सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले दुई दिनपछि चिनियाँ सेनाले नेपाली सेनालाई तीन लाख डोज कोभिडविरुद्धको खोप उपलब्ध गराउने जानकारीसमेत दिनुभयो ।

राजदूत यान्छीले कोभिड निर्मूल गरी नेपालको सामाजिक, आर्थिक क्षेत्रलाई सहज बनाउन चीन सरकारले सकेको योगदान पुर्याउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । स्वास्थ्य मन्त्री खतिवडाले नेपालले अहिलेसम्म चीनबाट खरिद प्रक्रियामार्फत एक करोड डोज कोभिडविरुद्धको खोप ल्याइसकेको पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू