अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२८ | Colorodo: 19:43

महाधिवेशनपछि नयाँ नेतृत्व र शक्ति स्थापित हुने एमालेको दाबी

बिआरटीनेपाल २०७८ कार्तिक १७ गते ९:०८ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले १० औं राष्ट्रिय महाधिवशेनपछि नयाँ नेतृत्व र शक्ति स्थापित हुने दाबी गरेको छ । बुधबार पत्रकार सम्मेलन गर्दै पार्टीले महाधिवशेनपछि नयाँ नेतृत्व र शक्ति स्थापित हुने जनाएको हो ।नयाँ विधानअनुसार एमाले महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव गरी १५ जना पदाधिकारीसहितको २ सय २५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।

एक तिहाइ महिलासहित नेपालको सामाजिक र वर्गीय विविधताको प्रतिनिधित्व हुने गरी केन्द्रीय कमिटी समावेशी हुनेछ । यसैगरी महाधिवेशनले १५ सदस्यीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगको चयन गर्नेछ । नेतृत्व निर्वाचनको कार्य विद्युतीय भोटिङ मेसिनको सहयोगमा हुनेछ ।महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले नारायणी नदीको किनारामा अवस्थित मैदानमा गर्नुहुनेछ । बन्द सत्र सौराहास्थित हात्तीसारमा गर्ने तयारी छ ।

स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलको संयोजकत्वमा गठन गरिएको मूल व्यवस्थापन समितिमा २३ सदस्य छन् । महाधिवेशनका प्रतिनिधिको निर्वाचन आगामी कात्तिक २७ गते गर्ने बताइएको छ । एमालेले विभिन्न मुलुकका पार्टी, मैत्रीपूर्ण सम्बन्ध रहेका पार्टी, दक्षिण एसियाका सत्तारुढ दल र विपक्षी दल तथा आइक्याप (आइसीएपीपी)का स्थायी कमिटीका सदस्यलाई पाहुना बोलाउने छ ।

एमालेबाट विभाजन भइ बनेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाहेक नेपालका प्रमुख राजनीतिक दलहरूलाई निम्तो दिइने छ । वर्तमान सरकारका कारण सर्वत्र उत्पन्न विसंगतिको अन्त्य गरी फेरि पनि लोकतान्त्रिक राजनीतिक स्थायित्वका लागि ताजा जनादेशको विकल्प नभएको एमालेको निष्कर्ष छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू