अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२६ | Colorodo: 19:41

राजदूत नियुक्ति र जापानवासी नेपालीका विषयमा एनआरएनए जापानको टोलीद्वारा परराष्ट्रमन्त्रीलाई ज्ञापन

बिआरटीनेपाल २०७८ कार्तिक १६ गते १५:१७ मा प्रकाशित

काठमाडौँ, नेपाल । गैर आवासीय नेपाली सङ्घ जापानका अध्यक्ष शिव प्रसाद पौडेल सहितको टोलीले परराष्ट्र मन्त्री नारायण खड्कालाई भेटेर जापानवासी नेपालीका समस्या र दुई देशबिच गरिनुपर्ने अत्यावश्यक काम कारबाहीका बारेमा ज्ञापन पत्र बुझाएको छ ।

एनआरएनए जापानका उपाध्यक्षहरू राजकुमार अधिकारी, रामकृष्ण श्रेष्ठ, युवा संयोजक राकेश रुम्बा एवं निवर्तमान प्रवक्ता पर्शु बस्नेत सहितको टोलिले नोभेम्बर २ तारिख मन्त्री खड्कालाई परराष्ट्र मन्त्रालयमा भेटेर टोलीले ९ बुँदे ज्ञापन पत्र बुझाएको हो ।

तत्काल सम्बोधन गरिनुपर्ने दुई र दीर्घकालीन रूपमा गर्नुपर्ने ७ वटा महत्त्वपूर्ण विषय समेटिएको ज्ञापन पत्रमा रिक्त राजदूत तत्काल नियुक्ति सहित दुई देशबिचको कूटनीतिक सम्बन्ध मजबुत बनाउन आग्रह गरिएको छ ।

नेपालमा सिओई आएर रोकिएका सबै भिसा स्ट्याटसका नेपालीहरूको प्रवेशमा सार्थक पहल गर्न तथा नेपाल एयरलाइन्सको सिधा हवाई उडानमा चर्को भाडादार रहेकाले समायोजनको पहल गर्न परराष्ट्र मन्त्री मार्फत आग्रह गरिएको छ ।

श्रमिकको सिपमूलक क्षमता अभिवृद्धिमा पहल, जापानमा पाउने पेन्सन नेपालमा लिन सकिने व्यवस्थाको लागि सम्झौतामा पहल गर्न समेत सरकारको ध्यानाकर्षण गराइएको छ ।

जापानको आम्दानीलाई दोहोरो कर छुटको व्यवस्था गर्न दुई देशबिच दोहोरो कर छुट सम्झौताको पहल गर्न, अल्पविकसित राष्ट्रका नागरिकहरू लाभान्वित हुनेगरि बनेका नियम, सेवा र सुविधाको लागि सरकारलाई सहजीकरण गर्न र यसमा एनआरएनए जापानले समन्वयात्मक काम गर्ने प्रतिबद्धता एनआरएनए जापानको टोलिले गरेको छ ।

कुक भिसामा जापान जाने नेपालीहरूबाट लिने गरिएको चर्को रकम, सम्झौता अनुसार जापान पुगेपछि तलब नदिने गरेका समस्या र उनीहरूमाथिको दुःख बढ्दो क्रममा रहेकाले समस्या सुल्झाउन एनआरएनए जापानले जोडदार आग्रह गरेको छ ।

जापान र नेपाल सरकारबिच भएको सम्झौता अनुसार नेपाली कामदार लैजाने सहमति भए पनि प्रक्रियामा भएको ढिलासुस्तीले गर्दा हजारौँ नेपालीले मौका गुमाइरहेकाले यसमा तदारुकताका साथ काम गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

भियतनाम, चीन लगायत कतिपय राष्ट्रका विद्यार्थीहरूको पार्टटाईमबाट हुने आम्दानीमा कर तिर्नु नपर्ने व्यवस्था रहेपनि नेपालले सो सुविधा नपाएकाले परराष्ट्र मन्त्रालय मार्फत पहल गर्न आग्रह गरिएको छ ।

हाल जापानको लागि नेपालको तर्फबाट राजदूत नियुक्ति नभएकाले यथाशक्य छिटो कूटनीतिक क्षेत्रमा दक्षता राख् नसक्ने राजदूत नियुक्तिको पहल गर्न आग्रह सहित एनआरएनए जापानले सरकारले चाल्ने कदममा एनआरएनए जापानले सबै किसिमको साथ र समन्वयको भूमिका निभाउने प्रतिबद्धता जनाएको छ ।

एनआरएनए जापानको तर्फबाट ज्ञापन पत्र बुझ्दै परराष्ट्र मन्त्री नारायण खड्काले सरकारले ज्ञापन पत्रमा उल्लेख बुँदाहरूको अध्ययन गरेर तत्काल आवश्यक कदम चाल्ने आश्वासन दिनुभएको एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू