अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३० | Colorodo: 11:45

नेपालले पायो प्रतिस्पर्धी दरमा बिजुली बेच्ने अनुमति, आज राति १२ बजेदेखि निर्यात हुने

बिआरटीनेपाल २०७८ कार्तिक १६ गते ७:३८ मा प्रकाशित

नेपाललले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा बिजुली बेच्न अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालयको सहमतिमा अन्तरदेशीय विद्युत् व्यापारका लागि स्वीकृति दिने निकायले हिजो सोमवार नेपाल विद्युत् प्राधिकरणलाई भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा बिजुली बेच्न गर्न अनुमति दिएको छ ।

पहिलो चरणमा प्राधिकरणको स्वामित्वमा नुवाकोटमा सञ्चालमा रहेका २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युत् गृहबाट उत्पादित ३९ मेगावाट बिजुली भारतीय ऊर्जा एक्सचेन्ज (आईआईएक्स) मा बेच्न अनुमति दिइएको हो ।

दुई विद्युत् गृहबाट उत्पादित विद्युतलाई स्रोत मानी भारतीय बजारमा बेच्नका लागि अनुमति दिइएको छ । प्राधिकरणले आज मङ्गलवार राति १२ बजेदेखि ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत विद्युत् निर्यात सुरु गर्ने छ । अहिले यो लाइनबाट विद्युत् आयात मात्र भइरहेको छ ।

नेपालले भारतीय ऊर्जा एक्सचेन्ज (आइआइएक्स) मा विद्युत् खरिद गरी आयात गर्न यसअघि नै अनुमति पाइसकेको छ । प्राधिकरणले गएको वैशाख १७ गतेदेखि आवश्यक परेको बेला आईआईएक्समार्फत प्रतिस्पर्धी दरमा बिजुली आयात गर्दै आएको हो । निर्यातको अनुमति पाएसँगै नेपाल र भारतबीचको विद्युत् व्यापार नयाँ चरणमा प्रवेश गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले भारतीय ऊर्जा एक्सचेन्ज बजारबाट विद्युत् बिक्री र खरिदका लागि प्रवेश गर्ने नेपाल दक्षिण एसियाकै पहिलो देश बनेको बताउनुभयो । मन्त्री भुसालले दुई देशबीचको विद्युत् व्यापारलाई अहिलको अवस्थासम्म पु¥याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सम्बन्धित सबै सरोकारवाला निकायलाई धन्यवादको पात्र भएको बताउनुभयो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् निर्यातका लागि भारतीय पक्षबाट सहमति प्राप्त भएसँगै नेपाल–भारतबीचको सम्बन्धमा थप इँटा थपिएको बताउनुभयो । नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि लामो समयको प्रयासपछि नेपालको विद्युत् भारतीय बजारमा निर्यात सुरु भएसँगै नेपालका जलविद्युत् विकासको ठूलो ढोका खुलेको छ ।

भारतको केन्द्रीय विद्युत् प्रणालीअन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा नेपालले विद्युत् बिक्री गर्ने छ । प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युतको परिमाणसहित बिडमा प्रतिस्पर्धा गर्नेछ । विद्युत् प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युतको प्रति युनिट बिक्री दर तय हुने छ । प्रतिस्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात् २४ घण्टा विद्युत् निर्यात हुने छ । भारतमा कोइलाको मूल्य बढ्दा एक्सचेन्ज मार्केटमा प्रति युनिट विद्युतको मूल्य २८ भारतीय रुपैयाँ (भारु) सम्म पुगेको थियो ।

प्राधिकरणको तर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) ले गर्नेछ । एनभीभीएनले हरेक दिनको कारोबारसम्बन्धी विवरण प्रत्येक दिन बेलुका ६ बजे प्राधिकरणलाई पठाउनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू