अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१२ | Colorodo: 04:27

सरकार प्रेस स्वतन्त्रताको पक्षमा छ– कानुनमन्त्री बडु

बिआरटीनेपाल २०७८ कार्तिक १६ गते ७:२७ मा प्रकाशित

कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले प्रेस स्वतन्त्रता विना कुनै पनि संस्थाको स्थायित्व नहुने बताउनुभएको छ ।नेपाल पत्रकार महासंघले सञ्चारसम्बन्धी कानुनका विषयमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री बडुले मिडिया काउन्सिल विधेयक लगायत सञ्चारसम्बन्धी कानुनमा रहेको प्रेस स्वतन्त्रता विरोध प्रावधान सरोकारवालासँग छलफल गरेर प्रेसमैत्री बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले सरकार सधैं प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले विगतका सरकारसँग पनि नेपाल पत्रकार महासंघले प्रेसमैत्री कानुन निर्माण गर्न आग्रह गरेको भन्दै प्रेस विरोध कानुनप्रति महासंघको सधै असहमति रहने बताउनुभयो । नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष विकाशराज न्यौपानेले नेपालको ग्रामीण क्षेत्रमा रहेर जनतालाई सुसूचित गर्नेमध्ये एकजना पत्रकारलाई नेजाले नेजा ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत गर्दै आएको बताउनुभयो ।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेले समाचार लेखेकै आधारमा लाखौं जरिवाना र वर्षौं जेल हाल्न सक्नेगरी कानुनहरु निर्माण भइरहेको भन्दै त्यस्ता प्रेस स्वतन्त्रता विरोधी कानुन सच्याउन सरकारलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा ‘नेजा ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत पत्रकार अनु आचार्यले ग्रामीण क्षेत्रमा रहेर पत्रकारिता गर्न चुनौती रहेको भन्दै पुरस्कारले आगामी दिनमा पेशाप्रति क्रियाशील हुन हौसला प्रदान गरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू