अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५७ | Colorodo: 19:12

अस्ट्रेलियाका प्रधानमन्त्रीले झुटो बोलेको फ्रान्सका राष्ट्रपतिको अरोप

बिआरटीनेपाल २०७८ कार्तिक १५ गते ७:४९ मा प्रकाशित

फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले पनडुब्बीसम्बन्धी रद्द गरिएको एउटा सम्झौताबारे अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले झुटो कुरा बोलेको आरोप लगाउनु भएको छ ।के मोरिसनले असत्य बोलेका हुन् भन्ने लाग्छ भनेर सोधिएको एउटा प्रश्नमा उहाँले लाग्ने हैन, मलाई थाहा नै छ भन्नुभयो ।

अस्ट्रेलियाले बाह्रवटा पनडुब्बी निर्माण गर्ने झन्डै ३७ अर्ब डलर बराबरको सम्झौता रद्द गरेर संयुक्त राज्य अमेरिका र यूकेसँग नयाँ रक्षा सम्झौता ‘ओकस’ मा सहभागी भएपछि माक्रोँ क्रुद्ध हुनु भएको हो ।तर आफूले बेइमानी नगरेको मोरिसनको दाबी छ । गत सेप्टेम्बरमा उक्त विवाद सुरु भएपछि माक्रोँ र मोरिसनबीच पहिलो पटक जी–२० शिखर सम्मेलनमा भेट भएको थियो । पनडुब्बीसम्बन्धी उक्त सम्झौता रद्द भएपछि फ्रान्स, अस्ट्रेलिया र अमेरिकाबीच विवाद उत्पन्न भयो ।

फ्रान्सका विदेशमन्त्रीले “पिठ्यूँमा छुरा हानेको“ भन्दै उक्त निर्णयको निन्दा गर्नु भएको थियो । त्यसपछि ओकसमा सहभागी देशसँग असन्तुष्टि व्यक्त गर्न पेरिसले अस्ट्रेलिया र अमेरिकाका लागि आफ्ना राजदूत केही समयका लागि फिर्ता पनि बोलाएको थियो ।

उता माक्रोँको टिप्पणीपछि बोल्दै स्कट मोरिसनले आफूले झुटो नबोलेको दाबी गर्नु भएको छ । बरु परम्परागत पनडुब्बी अस्ट्रेलियाको प्रतिरक्षाका लागि अपर्याप्त भएको कुरा आफूले राष्ट्रपति माक्रोँलाई बताएको उहाँले स्पष्टीकरण दिनु भयो । दुई देशबीच आपसी विश्वास र सम्बन्ध फेरि स्थापित गर्ने प्रयास थालिसकिएको मोरिसनको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू