अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३१ | Colorodo: 23:46

जलवायु परिवर्तनका कारक तत्वको न्यूनीकरणमा मानव सचेत हुनुपर्छ – राष्ट्रपति भण्डारी

बिआरटीनेपाल २०७८ कार्तिक १५ गते ७:३९ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तन र वातावरणलाई प्रत्यक्ष रूपमा असर गर्ने कारक तत्त्वको न्यूनीकरणका लागि मानव सचेत हुनुपर्ने बताउनुभएको छ । आज सोमवार मनाङमा एग्रो मनाङ प्रालि स्याउ फार्मको अवलोकनपछि निर्मल र सफा रहेको मनाङको वातावरणीय स्वच्छतालाई जोगाइराख्न र जलवायु परिवर्तनका कारक तत्त्वको पहिचान गरी तिनको न्यूनीकरण गर्न स्थानीयवासीको मुख्य भूमिका रहने उहाँले बताउनुभयो ।

वातावरणीय सन्तुलन कायम राख्न वन–जङ्गल र वनस्पतिको महत्त्वपूर्ण योगदान रहने भन्दै यसका लागि मानवको मुख्य भूमिका रहेको र सबैले मिलेर वातावरण जोगाएमात्र मानव जातिको अस्तित्व जोगिन्छ भन्ने चेतना र अठोटका साथ लाग्नुपर्ने राष्ट्रपति भण्डारीले बताउनुभयो ।
गएको असार १ गते आएको बाढी, पहिरोका कारण हिमाली जिल्ला मनाङलाई तहसनहस बनाउँदा दुःख लागेको उहाँले बताउनुभयो । मौसम अनुकूलताका आधारमा गरिएको खेती तथा व्यवसायले व्यक्ति र देशलाई आर्थिक समृद्धितर्फ अगाडि बढाउन सहयोग पुग्ने राष्ट्रपति भण्डारीले बताउनुभयो । विश्वभर जलवायु परिवर्तनले असर गरिरहेको अवस्थामा नेपाल पनि अछुतो नरहेको बताउँदै राष्ट्रपति भण्डारीले यसका कारकहरूको न्यूनीकरणमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।

जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा प्रत्यक्ष देखिएको उहाँले बताउनुभयो । जलवायु परिवर्तनले हिम रेखामाथि सर्दै गएको र यसलाई यथास्थितिमा कायमै राख्न यहाँ मौसम अनुकूलनका उत्पादन र प्राकृतिक सम्पदाको संरक्षणमा ध्यान पु¥याउनुपर्ने देखिएको उहाँको भनाइ थियो । हिमाली क्षेत्रमा उत्पादन हुने वस्तु र प्राकृतिक वस्तुको संरक्षणमा यहाँका बासिन्दाले प्राथमिकता दिनुपर्नेमा उहाँको जोड थियो ।

विश्वका ठूला देशहरूका कारण त्यसको असर हामीले भोग्नुपरिरहेको छ भन्दै राष्ट्रपति भण्डारीले मानव जातिकै लागि हामीहरूले पनि विश्वलाई सचेत गराइरहनुपर्ने बताउनुभयो । राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनका कारण यस हिमाली जिल्लामा देखापरेका समस्या र अवस्थाका बारेमा पनि जानकारी लिनुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू