अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४१ | Colorodo: 00:56

विश्व कुइकेलको कथासङ्ग्रह सुगन्धपुर सार्वजनिक

बिआरटीनेपाल २०७८ कार्तिक १४ गते १०:०९ मा प्रकाशित

विश्व कुइकेलको सुगन्धपुर नामक कथासङ्ग्रह शनिवार राजधानीको कुञ्ज नाटक घरमा आयोजित कार्यक्रममा प्रसिद्ध समालोचक प्रा।डा खगेन्द्रप्रसाद लुइटेलले लोकार्पण गर्नुभयो । नेपाली समाजका विविध घटना र परिवेशलाई जीवन्त किसिमबाट उठान गरिएको कथासङ्ग्रह सुगन्धपुरमाथि विभिन्न वक्ताहरूले आआफ्नै किसिमबाट समीक्षा गर्नुभयो । कृति लोकार्पण समारोहका प्रमुख व्यक्तित्व वरिष्ठ समालोचक प्रा।डा खगेन्द्रप्रसाद लुइटेलले प्रत्येक लेखक समाज सापेक्ष, परिवेश सापेक्ष र समय सापेक्ष हुने र ऊ आफू बाँचेको युगबाट प्रभावति हुने बताउँदै कथाकार विश्व कुइकेलले आफ्नो जीवन भोगाइका क्रममा देखेसुने भोगेका घटना र परिवेशलाई विभिन्न पात्रका माध्यमबाट सरल ढङ्गले प्रस्तुत गरेको बताउनुभयो ।

प्रा.डा लुइटेलले समाजमा व्याप्त अनेक किसिमका उत्पीडनलाई शब्दका माध्यमबाट पाठक सामु ल्याउनसक्नु लेखकको सबल पक्ष हो भन्दै विश्व कुइकेल नेपाली साहित्यमा सुनिने नामहरूमा नयाँ भए पनि कथाहरू अध्ययन गर्दा उनी पुरानाझैँ लाग्छन् र उनको लेखन शक्ति अब्बल रहको छ” भन्नुभयो । विश्व कुइकेलका प्रत्येक कथाको सुरुमा परिवेश वर्णन गरी देशको दुर्दशा, सशस्त्र युद्ध, सांस्कृतिक विविधता आदि ससाना घटनाको क्रमिक विन्यास प्रायः निम्नवर्गीय न्यून सहभागीका माध्यमबाट कथात्मक प्रस्तुति गरिएको बताउँदै प्रा.डा. लुइटेलले कथामा वर्तमान युगीन यथार्थको प्रस्तुति रहेको बताउनुभयो ।

भाषिक विविधता, कथ्य र स्थानीय भाषिकाको प्रयोग, पात्रका स्तरअनुरूपको भाषिक प्रयोग यस कथासङ्ग्रहको उल्लेख्य विशेषता हो भन्दै प्रा.डा. लुइटेलले नियात्रात्मक कथात्मकताले ओतप्रोत रहेका कुइकेलका कथाको विस्तारभित्र पनि पठनीयता उल्लेख्य पक्ष हो भन्नुभयो । प्रा।डा। लुइटेलले प्रशासनिक क्षेत्रमा रहेका धेरैजसो कर्मचारीले बचेखुचेको समय व्यर्थमा कटाउने गरेको बताउँदै विश्व कुइकेललगायत केही कर्मचारी साहित्यको क्षेत्रमा आउनु सुखद रहेको बताउनुभयो । उहाँले पूर्ववक्ताका कतिपय विषयान्तर अनावश्यक टिप्पणीप्रति कटाक्ष गर्दै प्रत्येक लेखक लेखनमा स्वतन्त्र हुने बताउनुभयो ।

राजन मुकारुङले साहित्य समाजको ऐना भएको बताउँदै लेखक कुइकेलको साहित्यिक सृजनाको मुक्तकण्ठले प्रशंसा गर्नुभयो । कथाकारले नेपाली परिवेशको विभिन्न कथा समावेश गरेर कथासङ्ग्रह ल्याउनु सुखद रहेको बताउनुभयो । “जुनसुकै साहित्यिक सृजना तब अब्बल हुन्छ, जब त्यसभित्र समाजका अनेक पक्षलाई जस्ताको त्यस्तै टिपेर अक्षरको माध्यमबाट बाहिर ल्याउन सकिन्छ । लेखकको सबल पक्ष भनेकै यही हो, मुकारुङले भन्नुभयो ।

कार्यक्रममा सचिन घिमिरेले कथाकार कुइकेलले आफ्नो सृजनाका माध्यमबाट सर्जकले समाज बदल् नसक्ने धारणा राख्दै “सुगन्धपुर कथासङ्ग्रह काँठको जनजीवनदेखि नेपालको फरक भूगोलको परिवेश समेट्न सफल छ, नेपाली समाजमा भए गरेका अनेक किसिमका किस्साहरूलाई कथाकारले बडो रोचक किसिमले बाहिर ल्याउनसक्नु कथाकारको खुबी हो” भन्ने कुरा उल्लेख गर्नुभयो ।

विना थिङले पनि सुगन्धपुर कथासङ्ग्रह नेपाली साहित्यमा पठनयोग्य सामग्री आएको भन्दै खुसी व्यक्त गर्नुभयो । अन्त्यमा कथाकार विश्व कुइकेलले सबैलाई धन्यवाद दिनुभयो ।

फिजिक्स बुकले प्रकाशन गरेको कथासङ्ग्रह सुगन्धपुरमा १९ वटा कथा छन् । पुस्तकको मूल्य ३५० रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू