अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२८ | Colorodo: 19:43

प्रधानमन्त्री देउवालाई बेलायती सांसदहरुको स्वागत

बिआरटीनेपाल २०७८ कार्तिक १४ गते ८:१८ मा प्रकाशित

कोप २६ मा भाग लिन लन्डन आएका प्रधानमन्त्री शेरबहादुर देउवालाई बेलायती सांसदहरुले स्वागत गरेका छन् । बेलायतस्थित समाजसेवी व्यवसायी रविजंग लामिछानेको संयोजन र बेलायती संसद्को नेपाल हेर्ने सर्वदलीय समितिको आयोजनामा शनिबार साँझ लन्डनको ‘नाभेल एन्ड मिलिटरी क्लब’मा प्रधानमन्त्रीलाई गाला डिनरसहित रिसेप्सन दिइएको हो ।

जहाँ सत्तरुढ कञ्जरभेटिभ, विपक्षी लेबर, लिबेरल डेमोक्र्याटसहितका प्रमुख दलबाट बेलायतको दुवै सदनमा प्रतिनिधित्व गर्ने डेढ दर्जन सांसदहरुको सहभागिता थियो । प्रधानमन्त्रीको स्वागतमा लन्डनका विभिन्न बरोका दर्जनौं मेयर तथा काउन्सिलरहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुदेखि भारत र पाकिस्तानका प्रधानमन्त्रीका सल्लाहकारहरुसमेत उपस्थित थिए ।

कार्यक्रममा भारतीय मूलका चर्चित बेलायती उद्यमी गोपी हिन्दूजासहित बेलायतका कयौं प्रतिष्ठित व्यापारी, व्यवसायी पनि कार्यक्रममा सहभागी थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपाल र बेलायतबीचको मैत्रीपूर्ण सम्बन्ध सधैं गर्विलो रहँदै आएको स्मरण गर्नुभयो । नेपालमा शान्ति स्थापनासँगै लोकतान्त्रिक र समावेशी संविधान बनेको र अब आर्थिक उन्नति देशको मूल प्राथमिकता रहेको उल्लेख गर्दै उहाँले बेलायतजस्ता मित्रराष्ट्रहरुको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

बेलायती संसदको नेपाल हेर्ने सर्वदलीय समितिका अध्यक्षसमेत रहेका सांसद वीरेन्द्र शर्माले नेपालसँगको मित्रता बेलायतका लागि विशेष महत्वको रहेको बताउनुभयो । कार्यक्रममा बेलायतको विपक्षी छायाँ सरकारमा मन्त्रीसमेत रहेकी लेबर पार्टीकी सांसद क्याथरिन वेष्ट, पूर्वमन्त्री एवम् लर्ड मार्क लांकास्टर, लर्ड शेखलगायतले मन्तव्य राख्दै प्रधानमन्त्रीलाई बेलायतमा स्वागत गरेका थिए । उनीहरुले प्रधानमन्त्रीलाई स्वागत र अन्तरक्रियाको अवसर जुटाउने बेलायतस्थित नेपाली समाजसेवी व्यवसायी लामिछानेप्रति आभार प्रकट गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू