अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१० | Colorodo: 23:25

चीनसँग पुनर्मिलनबाहेक ताइवानको कुनै भविष्य छैन – विदेशमन्त्री वाङ यी

बिआरटीनेपाल २०७८ कार्तिक १३ गते ७:३८ मा प्रकाशित

चिनियाँ विदेशमन्त्री वाङ यीले शुक्रबार ताइवानले चीनसँग पुनर्मिलन गर्नुबाहेक अर्को कुनै विकल्प नभएको र चीनको हिस्सा हुनुबाहेक यसको कुनै अन्तर्राष्ट्रिय कानुनी हैसियत पनि नभएको बताउनुभएको छ । संयुक्त राष्ट्रसंघमा ताइवानको ’अर्थपूर्ण’ सहभागिताको लागि अमेरिकाले आह्वान गरेको प्रतिक्रियास्वरूप उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । रोममा हुने जी२० शिखर सम्मेलनअघि वाङ यीले अमेरिका र केही अन्य देशले एक चीन सिद्धान्तलाई रोक्न नसक्ने बताउनुभयो ।

मन्त्री वाङले एक चीनको विपक्षमा रहन खोज्नेहरू २१औँ शताब्दीमा सफल हुने सम्भावना धेरै कम रहेको र यदि तिनीहरू निरन्तर त्यसै किसिमले सक्रिय रहे भने ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी समिेत दिनुभएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मंगलबार संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूलाई संयुक्त राष्ट्र प्रणालीमा ताइवानको “अर्थपूर्ण“ सहभागितालाई समर्थन गर्न आह्वान गरेपछि वाङको यस्तो टिप्पणी आएको हो ।

ब्लिन्केनले एक विज्ञप्तिमा भन्नुभएको छ “…हामी सबै संयुक्त राष्ट्र सदस्य राष्ट्रहरूलाई संयुक्त राष्ट्र प्रणालीमा र अन्तर्राष्ट्रिय समुदायमा ताइवानको बलियो, अर्थपूर्ण सहभागितालाई समर्थन गर्न हामीसँग सामेल हुन प्रोत्साहन गर्छौँ । ताइवानका एयरपोर्टहरूमार्फत वार्षिक दशौँ लाख यात्रुहरू यात्रा गर्ने गरे पनि ताइवानले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको त्रैवार्षिक सम्मेलनमा प्रतिनिधित्व गरेको थिएन ।“

सन् १९७१ मा चीनले आफ्नो ठाउँ लिएपछि ताइवानले संयुक्त राष्ट्रसंघ छोडेको थियो । त्यसयता ताइवानलाई महासभा र अन्य विश्व मञ्चहरूमा सहभागी हुनबाट वञ्चित गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू