अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२९ | Colorodo: 03:44

डा. हर्षबहादुर बुढामगर स्मृति सम्मानबाट विभिन्न श्रष्टाहरु सम्मानित

बिआरटीनेपाल २०७८ कार्तिक १२ गते १३:४० मा प्रकाशित

काठमाडौँ, नेपाली साहित्य तथा कला क्षेत्रमा विशिष्ट योगदान दिएको भन्दै विभिन्न व्यक्ती सम्मानित भएका छन् । डा. हर्षबहादुर बुढामगर स्मृति प्रतिष्ठानले डा. बुढामगरको ९४ औँ जन्म जयन्तीको अवसर पारेर श्रष्टाहरुलाई सम्मान गरेको हो ।

काठमाडौँमा आयोजना गरिएको कार्यक्रममा साहित्यकार शेरबहादुर गुरुङ र सञ्चारकर्मी वन्दना राणालाई अभिनन्दन गरियो । सोही क्रममा हर्षबहादुर बुढामगर साहित्य तथा सामाजिक योगदान सम्मान २०७७ बाट प्राज्ञ डा. ज्ञानु पाण्डे, गीतकार बमबहादुर थापा जिताली, कवि महेश पौड्याल, उपन्यासकार शंकर भारती, कवि डा. दामोदर पुडासैनी (किशोर), कथाकार जलेश्वरी श्रेष्ठ, कवि महादेव अधिकारी, कलाकार मिलन शेरचन, कवि सन्ध्या पहाडी, अस्मिता भण्डारी, कल्पना अधिकारी, प्रकाश समीर, मुस्कान खातुन र सपना रोक मगरलाई सम्मानित गरियो ।

यस्तै कार्यक्रममा साहित्यकारहरू प्रा.डा. लक्ष्मण गौतम, जयदेव भट्टराई, पुष्करराज भट्ट, विजय सागर, गीता कार्की, गायिका पवित्रा घर्ती मगर, कवि विमला तुम्खेवा, बालिका गिरी र उषा लोहनीलाई डा. हर्षबहादुर बुढामगर साहित्य सम्मान २०७६ बाट सम्मानित गरियो । उनीहरूलाई दोसल्ला ओढाएर आर्थिक पुरस्कार सहित ताम्र पत्रबाट सम्मानित गरिएको थियो ।

कार्यक्रममा सम्मान प्रदान गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपाली साहित्य क्षेत्रमा डा. हर्षबहादुर बुढामगरको अतुलनीय योगदान रहेको बताए । यो सम्मानले सम्बन्धित श्रष्टाको सृजनामा अझ प्रोत्साहित हुने पनि उनले बताए ।

अग्रज सङ्गीतकार तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजित बास्कोटाले बेलायती सेनाबाट अवकाश लिएपछि विद्यावारिधि गरेर समाजमा उदाहरणीय व्यक्ति बनेको बताए । जीवनमा उत्तरार्द्धमा डा. बुढामगरले नेपाली साहित्यमा पु¥याएको योगदानको पनि बास्कोटाले कार्यक्रममा चर्चा गरे ।

गायिका पवित्रा घर्ती मगर, टिका पुनले आफ्ना गीत प्रस्तुत गरेर कार्यक्रमको रौनकता बढाए । यस्तै एसिड प्रकरण र त्यसपछिको आफ्नो पीडादायी जीवनबारे मुस्कान खातुनले सो क्रममा चर्चा गरिन् ।

डा. बुढामगरकी छोरी लेखा थापाले आफ्नो बुबाको कविता सङ्ग्रह जडाउलीबाट केही कविताहरू प्रस्तुत गरेर कार्यक्रमलाई काव्यमय तुलाईन् ।
सो प्रतिष्ठानकी अध्यक्ष तथा प्राज्ञ, गीतकार उन्नति बोहरा शिलाले बुबाको चाहना नै नेपाली साहित्यको विकाश गर्नु भएकाले बुबाको नाममा प्रतिष्ठान स्थापना गरेर केही वर्ष यताबाट सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको बताइन् ।

सोही कार्यक्रममा प्राज्ञ गीतकार उन्नति बोहरा ‘शिला’को नयाँ उपन्यास ‘डिजायर’ विमोचन गरियो । शिखा बक्सले प्रकाशन गरेको यो उपन्यास उन्नतिको नेपाली उपन्यास तृष्णाको अङ्ग्रेजी अनुवाद हो । यसलाई महेश पौड्यालले अङ्ग्रेजीमा रूपान्तरण गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू