अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५७ | Colorodo: 23:12

एकैपटक १० लाखले क्लिक गर्दा सवारी लाइसेन्सको अनलाइन आवेदन प्रणाली बन्द

बिआरटीनेपाल २०७८ कार्तिक ११ गते ८:०८ मा प्रकाशित

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन प्रणाली बन्द भएको छ । यातायात व्यवस्था विभागले सबै प्रकारका सवारीको लाइसेन्सका लागि आवेदन खुल्ला गरेको चार दिनमै प्रणालीमा प्राविधिक समस्या आएको छ । मर्मतका लागि भन्दै बिहीबारबाट अनलाइन आवेदन प्रणाली बन्द गरिएको हो ।

विभागले नयाँ लाइसेन्सको आवेदन सोमबार साँझ ५ बजेदेखि खुला गरेको थियो । तर, छ महिनापछि आवेदन खुलेसँगै एकै चोटी चाप पर्दा सिस्टममा समस्या आएको विभागका सूचना अधिकारी लोकनाथ भुसालले जानकारी दिनुभयो । उहाँले लाइसेन्स आवेदन खुला गर्नासाथ करिब ९÷१० लाख मानिसले एकैचोटी फारम भर्ने प्रयास गर्दा बुधबारदेखि सर्भर पूर्ण रूपमा बन्द रहेको बताउनुभयो । प्राविधिकसहितको टोलीले मर्मतको काम सुरु गरिसकेकाले छिट्टै आवेदन खुलाउने उहाँको भनाइ छ ।

सवारी चालक अनुमतिपत्र लाइसेन्सका लागि आवेदन दिएर बसेका अझै साढे ३ लाख बढी लाइनमा छन् । यो संख्या काठमाडौं उपत्यकामा रहेका कार्यालयमा सबैभन्दा बढी छ । उपत्यकामा ४ र उपत्यकाबाहिर २१ वटा यातायात व्यवस्था कार्यालय छन् ।

विभागका सूचना अधिकारी भुसालले यसअघि नै आवेदन दिएर बसेकाहरूको पालो पहिले आउने बताउनुभयो । उहाँले हालै आवेदन दिएकाहरूको पालो भने उपत्यकामा भए चार महिनामा र उपत्यकाबाहिर भए एक महिनामा आउने जानकारी दिनुभयो । विभागले हाल नयाँ मापदण्ड अनुसार लाइसेन्सको परीक्षा लिन सुरु गरेको छ । नयाँ मापदण्ड अनुसार लिखितमा ६० प्रतिशत र प्रयोगात्मक (ट्रायल) परीक्षाका विभिन्न चरणमा ७० अंक ल्याएमा पास भइनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू