अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०७ | Colorodo: 21:22

आबुधावी डाइलग : नेपालमा सिकेको सीपलाई मान्यता दिने गरी संयन्त्र बनाउन गन्तव्य देशलाई नेपालकाे आग्रह

बिआरटीनेपाल २०७८ कार्तिक १० गते ७:२९ मा प्रकाशित

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ ‘किसान’ ले यूएईमा जारी आबुधावी डाइलगमा नेपालमा सिकेको सीपलाई मान्यता दिन गन्तव्य देशलाई आग्रह गर्नुभएको छ । संयुक्त अरब इमिरेट्स (यूएई)मा सोमबारदेखि जारी छैटौँ श्रम मन्त्री स्तरीय ‘आबुधावी डाइलग’ मा  सहभागी मन्त्री श्रेष्ठले मंगलबार सम्बोधन गर्दै मन्त्री श्रेष्ठले कामदार पठाउने देशमा दिइने सीप तालिमलाई गन्तव्य देशमा मान्यता र त्यसका लागि आवश्यक संयन्त्र बनाएर अघि बढ्नु पर्ने भनाई राख्नुभएको हो ।

श्रम मन्त्री श्रेष्ठले उठाएको यो विषयमा सहभागी सबैजसो देशका प्रतिनिधिले जोड दिएको यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले  जानकारी दिनुभयो ।यस्तै मन्त्री श्रेष्ठले श्रमिक आयात गर्ने मध्य पूर्वी अरबी खाडी मुलुक र कामदार उपलब्ध गराउने एसियाली मुलुकबीच थप समन्वय आवश्यक रहेको बताउनु भएको छ । मन्त्री श्रेष्ठले आप्रवासी कामदारको हकहित, सुरक्षाका विषयमा थप समन्वय, लगानी र डिजिटल मञ्चको प्रयोग गर्नुपर्ने कुरा उठान गर्नुभएको छ ।

यू​एईको श्रम तथा मानव संसाधन मन्त्रालयले कामदार पठाउने देश र कामदार आयात गर्ने देशबीचको सम्बन्ध र भावी योजना बारे छलफल गर्न आबुधावी डाइलगको आयोजना गरेको हो । बिहीवारसम्म चल्ने डाइलगमा नेपालको तर्फबाट मन्त्री श्रेष्ठसहित श्रम सचिव सूर्यप्रसाद गौतम र उपसचिव डा.थानेश्वर भुसाल सहभागी हुनुहुन्छ ।

यसैबिच आबुधावी डाइलगमा सहभागी हुन यूएई आएको टोलीले बुधबार साँझ आबुधावीमा रहेको नेपाली दूतावासमा यहाँ रहेका संघसस्थाका प्रतिनिधिसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको छ । टोली बिहीवार दुबईमा जारी दुबई एक्पो २०२० को अवलोकन गर्ने कार्यक्रम तय भइसकेको दूतावासले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू