अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०३ | Colorodo: 01:18

परमादेश जारी गर्ने सबै न्यायाधीशलाई हटाउनुपर्छ भन्ने गैरजिम्मेवार कुरा गर्नु उचित हुँदैन – प्रधानमन्त्री देउवा

बिआरटीनेपाल २०७८ कार्तिक १० गते ७:०० मा प्रकाशित

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले अदालतको बारेमा धेरै बोल्न नमिल्ने बताउनुभएको छ । प्रधानमन्त्री देउवाले परमादेशको सवाललाई उठाएर सर्वोच्च अदालतका सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोशसमेत व्यक्त गर्नुभयो । नेपाल तरुण दलले बुधबार बालुवाटारस्थित आफ्नै सरकारी निवासमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले न्यायालयको सम्बन्धमा उठेका सवालहरुबारे सत्तारुढ गठबन्धनमा छलफल गरेर अघि बढने पनि स्पष्ट पार्नुभयो । प्रधानमन्त्री देउवाले अदालतमा देखिएको समस्या समाधान गर्ने काम अदालतकै भएको तर्क समेत गर्नुभएको छ ।

‘परमादेश ल्याउने सबैलाई हटाउनुपर्दछ भन्ने गैरजिम्मेवार कुरा गर्नु उचित हुँदैन जस्तो लाग्दछ मलाई । अरुकुरा धेरै केही भन्नु छैन तपाईंहरुलाई । हाम्रो गठबन्धन ५ पार्टीको जो छ, जे उठेका सवालहरु छन्–न्यायालय सम्बन्धमा । सरसल्लाह, छलफल गर्नेछौं । यसमा धेरै कुरा छैन । मैले तपाईंहरुलाई भनेको भन्यै छु । हमाल हाम्रो पार्टीको मान्छे हो । विचरा, बस्न नसक्ने भएपछि राजीनामा दिए । यो कुरा सिद्धिइसकेको थियो, तर कुरा उठाएका उठाएकै छन । अदालतको बारेमा हामीले धेरै बोल्ने कुरा छैन । अदालतले जे गर्छ, त्यो अदालतको कुरा हो,’ प्रधानमन्त्री देउवाको भनाई थियो ।

प्रधानमन्त्री देउवाले परमादेशबाट संसदीय व्यवस्था, संविधान र सिंगो देशलाई बचाउने काम अदालतका न्यायाधीशहरुले गरेको दाबी गर्दै त्यसको विरोध नगर्न पनि एमाले अध्यक्ष ओलीलाई सचेत गराउनुभयो । प्रधानमन्त्री एवं सभापति देउवाले कांग्रेसको १४औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउने काममा केन्द्रित हुन पनि पार्टीका नेता, कार्यकतालाई आह्वान गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू