अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०५ | Colorodo: 23:20

आफ्नै देश छिर्न अमेरिकी नागरिकलाई कोभिड नेगेटिभ रिपोर्ट चाहिने

बिआरटीनेपाल २०७८ कार्तिक ९ गते १६:५८ मा प्रकाशित

न्यु योर्क । बाइडेन प्रशासनले कोभिड सम्बन्धी थप कडा नियम ल्याएको छ । उक्त नियम अनुसार आफ्नै देश छिर्न अमेरिकी नागरिकलाई कोभिड नेगेटिभ रिपोर्ट चाहिने छ ।

बाइडेन प्रशासनले कोभिड विरुद्ध कडा रणनीति अपनाउँदै सोमबार उक्त नियम सार्वजनिक गरेको हो । उक्त नियम लामो समयका लागि अमेरिका बसोबास गर्ने आप्रवासीलाई समेत लागू हुनेछ । उक्त नियम आगामी नोभेम्बर ८ देखि लागू हुने छ ।

नयाँ नियम अनुसार कोभिड खोप नलिएका अमेरिकी नागरिक र लामो समयका लागि अमेरिका बसोबास गर्ने आप्रवासीले अमेरिका छिर्न एक दिन अघि जारी गरिएको कोभिड नेगेटिभ रिपोर्ट देखाउनु पर्नेछ । कोभिड खोप लिएका अमेरिकी नागरिकले भने ३ दिन अघि जारी गरिएको कोभिड नेगेटिभ रिपोर्टका आधारमा अमेरिका भित्र प्रवेश पाउने छ ।

अधिकारीहरूका अनुसार कोभिड खोप नलिएका विदेशी नागरिकले विशेष अवस्थामा मात्र अमेरिका प्रवेश पाउने छन् । यसअघि अमेरिका छिर्न सबै विदेशी नागरिकले कोभिड खोप लिएको हुनुपर्ने नियम जारी गरिएको थियो । उक्त नियमलाई खुकुलो बनाउँदै विशेष अवस्थामा सीमित विदेशी नागरिक कोभिड खोप नलिए पनि अमेरिका प्रवेश गर्न सक्ने नयाँ नियम ल्याइएको हो ।

दश प्रतिशत भन्दा कमको भिड खोप लगाइएका देशका नागरिकले समेत अमेरिका छिर्न किन आवश्यक रहेको भन्ने भरपर्दो कारण प्रस्तुत गर्नु पर्नेछ । अठार वर्ष मुनिका बालबालिकाले भने अमेरिका छिर्न कोभिड खोप लगाएको हुनुपर्ने छैन । साथै, क्लिनिकल ट्रायलमा रहेका र केही स्वास्थ्यजन्य परिस्थितिमा रहेका विदेशी नागरिकलाई अमेरिका छिर्न कोभिड खोप लगाएको हुनै पर्ने प्रावधान लागू हुने छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू