अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५७ | Colorodo: 20:12

जलवायु परिवर्तनसम्बन्धी कोप सम्मेलनमा नेपालबाट १२ वर्षपछि कार्यकारी प्रमुखले भाग लिने

बिआरटीनेपाल २०७८ कार्तिक ८ गते ७:३५ मा प्रकाशित

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६ औँ सम्मेलन कोप–२६ मा नेपालका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुनुहुने भएको छ । आउँदो कात्तिक १४ देखि २६ गतेसम्म अमेरिकाको ग्लास्गो सहरमा हुने सम्मेलनमा प्रधानमन्त्री देउवाको नेतृत्वमा उच्चस्तरीय टोली सहभागी हुने तय भएको हो ।

कोप सम्मेलनमा नेपालबाट १२ वर्षपछि कार्यकारी प्रमुखले भाग लिने निश्चित भएको हो । यसअघि डेनमार्कको कोपनहेगनमा सन् २००९ मा भएको कोप १५ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल कार्यकारी प्रमुखको हैसियतमा सहभागी हुनुभएको थियो ।

सम्मेलनमा प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्या, जलवायुजन्य नोक्सानी, जलवायु अनुकूलन, विकसित देशहरूको दायित्वलगायत विषयमा सम्बोधन गर्नुहुनेछ । सम्मेलनमा नेपालले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका असरले समग्र हिमाली अर्थतन्त्र र पारिस्थितिकीय प्रणालीका साथै तल्लो तटीय क्षेत्रका पारिस्थितिकीय प्रणालीमा परेको प्रभावजस्ता विषयमा सशक्तरूपमा आवाज उठाउने तयारी गरेको वन मन्त्रालयका सचिव पेमनारायण कँडेलले जानकारी दिनुभयो ।

योसँगै जलवायुजन्य हानि र नोक्सानी, राष्ट्रिय योगदान प्रतिबद्धता प्रतिवेदन कार्यान्वयनका लागि स्रोतको खोजी, कार्बन वित्तलगायत विषय नेपालको प्राथमिकता हुने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू