युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले खेलाडीहरुको मनोबल बढाउन सरकारले ध्यान दिने बताउनुभएको छ ।बंगलादेशको ढाकामा हुने पाँचौं सेन्ट्रल साउथ एशियन आर्टिस्टिक जिम्न्याष्टिक च्याम्पियनशीप खेल्न बंगलादेश जान लागेका खेलाडी तथा प्रशिक्षकहरुको आइतबार मन्त्रालयमा बिदाई गर्दै मन्त्री गहतराजले उक्त प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
उहाँले खेलाडीहरुको मनोबल बढाउनका लागि मन्त्रालयले नयाँ तरिका र नयाँपन अपनाइरहेको बताउनुभयो । मन्त्री गहतराजले खेलका बेला मात्रै खेलाडीहरुलाई राष्ट्रका गहना भन्ने र अरु बेला घर फर्काइदिने परिपाटी उचित नभएको बताउँदै यो परिपाटीलाई सरकारले गम्भीरताका साथ लिने र खेलकुद क्षेत्रको प्रगतिमा मन्त्रालय लागि पर्ने बताउनुभयो ।
मन्त्री गहतराजले खेलाडीहरुलाई नेपाली माटो र गौरव गाथालाई सम्झिएर खेल्न आग्रह गर्नुभयो । जिम्न्याष्टिकमा सहभागी हुन १२ जना खेलाडीहरु भोलि बंगलादेश प्रस्थान गर्नेछन् ।